
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्न आवश्यक रहेको बताउनुभएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री मेहताले आर्थिक अवस्था कमजोर भएकै कारण जोकोही नागरिक पनि स्वास्थ्योपचारबाट वञ्चित हुन नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावकारी र गुणस्तरयुक्त हुनुपर्छ ।”
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको जानकारी गराउँदै प्रतिष्ठानले यसै वर्षदेखि जलन र क्यान्सर उपचारसमेत सञ्चालनमा ल्याउने बताउनुभयो ।
यसैबीच स्वास्थ्यमन्त्री मेहताले शुक्रबारै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको समेत उद्घाटन गर्नुभयो । क्याथ ल्याबबाट आजदेखि नै सेवा उपलब्ध गराउन थालिएको छ । उहाँले अस्पताल र ल्याब सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार हुने र यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।
