नवकान्तिपुर संवाददाता
डोल्पा, १५ कार्तिक।

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पाको यात्रामा हिँडेका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा अलपत्र परेका थिए ।
अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका प्रमुख जिल्ला अधिकारी ढकालले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ । पर्यटकहरु फसेको ठाउँमा नेटवर्क नभएका कारण फोन सम्पर्क हुन सकेको छैन । उनीहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सम्पर्कमा रहेका छन् ।”
माथिल्लो डोल्पामा यही कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइए पनि उनीह अटेरी गर्दै त्यसतर्फ गएका थिए । प्रमुख जिल्ला अधिकारी ढकालले मौसम प्रतिकुलताका कारण सिर्जना भएका र हुन सक्ने जोखिमबाट सजग, सतर्क र सुरक्षित रहन सबैमा अनुरोध गर्नुभएको छ । (रासस)

