देवकोटा जयन्ती एवं क्लबको वार्षिकोत्सवको अवसरमा प्राडा त्रिपाठी र अर्याललाई सम्मान गरिने

राजधानीको गोकर्णेश्वर-५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८औं देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा विगतमा झै यो वर्ष पनि स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।

आगामी कात्तिक २२ मा लक्ष्मी पूजाको अवसरमा क्लब प्रांगणमा कार्यक्रम गरी प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र निर्मल अर्याललाई सम्मान गर्न लागिएको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिनुभयो ।

प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डाक्टर त्रिपाठीलाई रु. ५१ हजार राशीसहितको सम्मान अर्पण गरिने क्लबका सचिव रामचन्द्र दंगालले बताउनुभयो । साथै समाजसेवी एवं युवा सर्जक निर्मल अर्याललाई रु. २५ हजार सहित सम्मान गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डाक्टर गंगा उप्रेती र विशिष्ट अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल सहभागी हुनुहुनेछ ।

कार्यक्रम अघि क्लब प्रांगणमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको शालिकमा प्रमुख अतिथि, विशेष अतिथि, सम्मानित स्रष्टाहरू, क्लबका पदाधिकारी, साहित्यिक संघ संस्थाका प्रतिनिधिहरू सहित सर्वसाधारणबाट माल्यार्पण गरिने क्लबले जनाएको छ ।

मुलुककै एक क्रियाशील क्लबको रुपमा पहिचान बनाएको नयाँ बस्ती युवा क्लबले समाजसेवा, साहित्य, खेलकूद, स्वास्थ्य लगायतका विधामा लामो समयअघि देखि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार