बाघको आक्रमणबाट महतोको मृत्यु

बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उहाँको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मङ्गलबार दिउँसो तीन जनासँग निउरो टिप्न जानुभएको थियो । सोही क्रममा बाघले आक्रमण गरी उहाँलाई लगेको थियो ।

महतोसँगै गएका साथीले इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराएपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजी सुरु गरिएको थियो ।



खोजीका क्रममा आज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ । शव नजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

सम्बन्धित समाचार