नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कार्तिक।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर यही बिहीबार र शुक्रबार बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो ।
राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) एक-एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ । सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन् ।
राष्ट्र बैंकले असर्फी तथा मेडालियन खरिदका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने जनाएको छ ।
असर्फी तथा मेडालियन खरिदको लागि नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहानको करिब ११ः०० बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारणपश्चात् मात्र बिक्री हुने सूचनामार्फत जनाएको छ ।(रासस)
