चितवनद्वारा सुदूरपश्चिम सामू १३४ रनको लक्ष्य प्रस्तुत

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार जारी खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको हो ।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए ।

उसका लागि सलाहुद्दिन खानले १६ बलमा १८ रन तथा कमल ऐरीले ८ बलमा १० रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन । त्यस्तै देव खनालले ६ रन बनाए भने क्यामिल मिश्राले ४ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले उत्कृष्ट ३ विकेट लिए भने थारिन्दु रत्नायकेले २ विकेट हात पारे । त्यस्तै हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १-१ विकेट लिए । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

सम्बन्धित समाचार