सुदूरपश्चिम लगातार तेस्रोपटक एनपिएलको फाइनलमा

चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा चितवनलाई पराजित गरेसँगै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपिएलको फाइनलमा पुगेको हो ।

अब उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ । अघिल्लो संस्करणमा पनि यी दुई टोलीबीच नै फाइनल प्रतिस्पर्धा भएको थियो, जसमा लुम्बिनीले उपाधि जितेको थियो ।

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ४२ बलमा सात चौका प्रहार गर्दै अविजित ५३ रन बनाए । विनोद भण्डारीले १३ बलमा २३ तथा दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ रन जोडे ।

चितवनका रञ्जित कुमारले तीन ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । कमल ऐरी, रिजान ढकाल, उसामा मीर, सलाउद्दिन खान र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गर्दै अविजित ७१ रन जोडे । सलाउद्दिन खानले १६ बलमा १८ तथा कमल ऐरीले आठ बलमा १० रन बनाए । देव खनालले छ र क्यामिल मिश्राले चार रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन तथा थारिन्दु रत्नायकेले दुई विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक–एक विकेट लिए ।

सम्बन्धित समाचार