नवकान्तिपुर संवाददाता
चितवन, ४ मंसिर।

पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ । पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा यही मङ्सिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११:०० बजेदेखि अपह्रान्न ४:०० बजेसम्म (पाँच घण्टा) सडक आवागमन बन्द गरिने जनाइएको छ ।
सडक बन्द गरी जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम गर्नका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त समयमा सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने छन् ।
घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले सडकमा थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पहिरो व्यवस्थापनको काम अघि बढाउन सडक बन्द गरिएको हो । सडक बन्द हुने समयमा वैकल्पिक यात्रा व्यवस्थापन गर्न तथा अनावश्यक दु:खबाट बच्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
समस्या परे समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सडकखण्डका सूचना अधिकारीसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
साथै नारायणगढ तर्फबाट जाने गाडीलाई जुगेडी र आँपटारीमा, पोखरा तर्फबाट आएका गाडीलाई आँबुखैरेहनी र काठमाडौँ तर्फबाट आएका गाडीलाई रमाईलो डाँडामा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । (रासस)

