युवालाई स्वरोजगार बनाउन कृषि पेशामा लगाउनुपर्छ : मन्त्री खनाल

१६ औं धान दिवस यसपटक बर्दियाको राजापुरमा मनाइएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूलनाराका साथ धान दिवस मनाइएको हो । दिवसको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले राजापुरमा ट्याक्टर जोतेर र धान रोपेर उद्घाटन गरे ।

मन्त्रालय मातहतको बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्रको आयोजनामा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन उनले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको बताए । खेतीमा आकर्षण नहुँदा २५ लाख युवा खाडी मुलुकमा काम गर्न जाँदा जग्गा बाँझो हुँदैगएको उनको भनाइ थियो ।



उनले किसानको जीवनशैली बदल्न कृषियोग्य जमीनको खण्डीकरण गरी यान्त्रिकरण र आधुनिकीकरण गरिनुपर्नेमा जोड दिए । विषादीयुक्त तरकारी आयातमा प्रतिबन्ध लगाउँदा आलोचना गरिएको चर्चा गर्दै उनले जतिनै आलोचना गरे पनि स्वास्थ प्रमाणपत्र नभएका खसी, बोका र तरकारी आयात हुन नदिइने स्पष्ट पारे ।

बाँझो जमीन ४२ प्रतिशत रहेको र ६६ प्रतिशत जनता कृषिमा निर्भर रहेकाले युवालाई स्वरोजगार बनाउन कृषि पेशामा लगाउनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय किसान आयोगका सदस्य उदयचन्द ठाकुर, सांसद सन्तकुमार थारु, सञ्जय गौतम, प्रदेश नं– ५ का उपसभामुख कृष्णी थारु, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारु, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक टेकबहादुर गुरुङ, राष्टिय किसान आयोगका सदस्य–सचिव डा तेजबहादुर रिजाल, प्रदेशसभा सदस्य दीपेश थारुलगायतले मसिना तथा वासनादार धान उत्पादन गर्न लागि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार