भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान : दुईको मृत्यु, एक घाइते

भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान भएकाे छ । प्रहरी र विप्लव समुहविच गाेली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।



विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो । बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार विप्लव कार्यकर्ताको गतिविधि बढेको जानकारी आएपछि ५ जना सादा पोसाकका प्रहरी निगरानीमा थिए। विप्लव इन्चार्जलाई चिनेर पक्राउ गर्ने क्रममा उनले फायर खोलेका थिए। त्यसपछि उक्त घटना भएको हो।

निरकुमारको साथबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ। बिहान ८:४५ तिर उक्त घटना भएको हो। अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

(प्रतीकात्मक तस्बिर)

सम्बन्धित समाचार