छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक धरौटीमा रिहा

बाल यौन दुर्व्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएको अदालतले जनाएको छ ।

सप्तरी जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पक्राउ परी थुनामा रहेका पशुपति र अदालतमा हाजिर भएका रामकृष्ण रु ६५ हजार धरौटी राखी तारेखमा रिहा भएका हुन् । जेठ २७ गते पक्राउ परेका पशुपतिलाई पुर्पक्षका लागि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेलगत्तै रामकृष्ण अदालतमा हाजिर भएका थिए ।



सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत निमावि राहत शिक्षकद्वयले छात्राहरुलाई कक्षाकोठा र कोचिङ कक्षामा यौन दुर्व्यवहार गर्ने गरेको भन्दै १४ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २६ गते उजुरी दिएकी थिइन् । धरौटीमा रिहा भएका आरोपित शिक्षकले भने आफूहरुले बाल यौन दुव्र्यवहार नगरेको बताएका छन् ।

यसैबीच सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मोहम्मद मुस्ताकलाई बिहीबार पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई पक्राउ गरी जबर्जस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

घरमा कोही नभएका बेला पानी खाने बहानामा सोमबार घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ । आरोपित सडक मजदूर हुन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले पीडितको स्वास्थ्य परीक्षणपश्चात् उजुरी दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार