जनता सामु लज्जित हुनु पर्‍यो, त्यसप्रति क्षमाप्रार्थी छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नभएकाे बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अायोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले उनले विषादी प्रकरणबारे भारतीय दुतावासले पठाएको पत्रबारे आफूलाई जानकारी नदिएकै कारण जनताको सामू पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनु परेको बताए ।



‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनु पर्‍यो, त्यसप्रति क्षमाप्रार्थी छु ।’ नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको बताएका हुन् ।

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने, ‘जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।’ उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

अहिले सङ्घ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उनले भने, ‘कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।’ उनले सुरक्षा, अन्तरराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय सङ्घअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गरे ।

सम्बन्धित समाचार