नवकान्तिपुर संवाददाता
काठमाडौं
पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।
डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।
त्यस्तै, राजमार्ग माथिबाट खनिएको सडक पनि समस्याका रुपमा खडा भएको स्थानीयको गुनासो छ । अव्यवस्थित रुपमा खनिएको सडकको लेदो सोझै सडकमा खस्दा यसअघि पनि सडक अवरुद्ध भएको थियो ।