गणतन्त्रलाई सुदृढ गर्न सबै क्षेत्रमा सफाइ अभियान चाल्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले गणतन्त्रलाई सुदृढ गर्न सबै क्षेत्रमा सफाइ अभियान चाल्नुपर्ने विचार व्यक्त गरेका छन् ।

चक्रपथवापत खण्डको सफाइले १०० हप्ता पूरा गरेको अवसरमा आज आयोजित सफाइ अभियानमा समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले उपत्यकाका नदी, चक्रपथ र मुख्य शहर सफाइ अभियानसँगै आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पनि सफाइ र शुद्धीकरण आवश्यक रहेको बताए ।



“सभ्यता विकासका क्रममा मानिसको चापले फोहर बढेकाले सफाइमा सबैको सामूहिक प्रयास हुनुपर्छ, यसका लागि सबै राजनीतिज्ञलाई सफा राजधानी बनाउने अभियानमा लाग्न आह्वान गर्छु, बसोबास र संस्कृतिमा विकृति बढ्दै जाँदा फोहर बढेको छ, यसलाई सुधार गरिनुपर्छ”, उनले भने ।

संविधानको मार्गनिर्देशन पालना गरेर अघि बढे सबै क्षेत्रमा देखापरेका समस्या समाधान हुने नेता खनालको भनाइ थियो । कार्यक्रममा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले मास्क, बुट, पञ्जालगायत सफाइ सामग्री अभियानका संयोजक ताराबहादुर कुँवरलाई हस्तान्तरण गरे ।

सफाइ अभियानमा समितिका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता पनि अध्यक्ष बस्नेतको थियो । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालले विकासका नाममा वातावरणीय क्षति बढी हुने गरेकाले सफाइ अभियानकर्मीले आफैँबाट शुरु गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार