उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिक्षकले राजनीतिक रुपमा विभाजित हुन नहुने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २१औँ राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा उनले शिक्षक सङ्गठनले सदैव गुणस्तरीय शिक्षालाई जोड दिँदै यसलाई थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक नीति, कानून, संरचना, कार्यक्रम, आचरण र व्यवहार कार्यान्वयन गर्नुपर्ने बताए ।
‘शिक्षा सेवा आयोगले निर्माण गरेका सकारात्मक नीति अघि सारी त्यसैअनुरुप आगामी दिनमा काम अघि बढाउने छौँ’, उनले भने, ‘नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल शिक्षक सङ्गठन एकत्रित भएर अघि बढ्न जरुरी छ ।’
सङ्गठनका पूर्वअध्यक्ष माधवप्रसाद अधिकारीले नेपालमा रहेका ३३ हजार निजी विद्यालयमध्ये नौ हजार सामुदायिक विद्यालयमा हस्तान्तरण भएका जानकारी दिए । उनले भने, ‘यसरी सबै संस्थागत विद्यालय समुदायमा हस्तान्तरण हुने हो भने हरेक शिक्षकले हलो किनेर अघि बढ्नुपर्ने हुन्छ ।’
पूर्वशिक्षामन्त्री तथा सङ्गठनका पूर्वअध्यक्ष देवीप्रसाद ओझाले सार्वजनिक विद्यालयका शिक्षक र शिक्षामा ध्यान दिन आग्रह गरे । उनले भने, “परिषद्को निर्णयले २० देखि २५ वर्ष शिक्षा क्षेत्रमा काम गरी हाल घर बस्न बाध्य शिक्षकलाई मासिक तलब र पेन्सनको व्यवस्था गर्नुपर्ने छ । शिक्षकले आगामी दिनमा आफू काम गर्ने विद्यालयका विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिसँग मिलेर काम गर्दा सदैव सुमधुर वातावरण सिर्जना हन्छ ।”