नवकान्तिपुर संवाददाता
लहान, ३१ असार
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आएका मन्त्री यादवले सिरहाको चोहर्वामा जिल्लास्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
बाढी प्रभावित क्षेत्रका जनता सङ्कटमा रहेकाले तत्काल उद्धार र राहत वितरण गर्नेतर्फ सबै संयन्त्र परिचालन गर्नुपर्ने भन्दै बाढी पीडितको नाममा हुने राहत वितरणको कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउन मन्त्री यादवले निर्देशन दिए ।
बस्तीभरि अझै बाढी रहेकाले महामारी फैलिन नदिन बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गर्न निर्देशन दिदै बाढी पीडित जनतालाई उद्धार र राहतका लागि तीनै तहको सरकारले समन्वय गरी अघि बढ्नुपर्ने बताए । छलफलमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सिरहाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।
सिरहामा चारको मृत्यु, एक बेपत्ता
केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल वर्षाको पानी जमेको खाल्डोमा डुबेर असार २९ गते सिरहाको मिर्चैया नगरपालिका–४ मा स्थानीय सन्तोष साहको ५ वर्षीया छोरी प्रियंका साह र बद्री महतोको ११ वर्षीया रागिनीकुमारी महतोको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण सिरहाको विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने दुई हजार ५३८ वटा घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
(फाइल तस्विर)