नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम मूलभूत रुपमा आजै बेलुकासम्म टुंगिने पार्टी बताएका छन्। ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले टुंगिएको विषयलाई सचिवालय, स्थायी समिति तथा केन्द्रीय समितिबाट अनुमोदन गराइने बताए ।
‘केहीकेही बाँकी रह्यो भने त्यो सामान्य टेक्निकल कुरामात्रै हुन्छ’, प्रचण्डले भने, ‘यो विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु।’ पार्टी एकताको बाँकी काम असार मसान्तभित्रै सक्ने भनिएको थियो। ‘असार मसान्तसम्म सक्ने भनेर अर्का अध्यक्ष ओली र मैले यो महिनाभित्र पार्टी एकताको सबै काम टुंग्याउने भनिएको छ’, प्रचण्डले भने, ‘हामी केही दिनदेखि लागिरहेका पनि छौं। म केहीबेरमा फेरि बैठकमा जाँदैछु।’
उनले एकताको प्रक्रिया ढिलो भए पनि त्यो आजै टुंगिने कुरा खुसीको कुरा भएको बताए। पार्टी एकता भएको १४ महिना भइसक्दा पनि पार्टीमा कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग तथा आयोगहरु टुंगिन बाँकी छन्।
प्रचण्डले ती सबैको मुख्य संरचना टुंग्याए पनि ‘फिल इन द ब्ल्यांक’ मात्रै रहेको बताए। ‘खालि ठाउँ भर्ने कुनै जटिल कुरा होइन। त्यो सजिलैसँग पूरा गर्न सकिन्छ भन्ने हामीलाई विश्वास छ’, उनले भने।
प्रचण्डले एकताको काम सकेपछि देशभरि अभियानमा जाने बताए। ‘केही महिनाभित्र हामीले पार्टी कमिटीहरुलाई र जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने सम्बन्धमा नेतृत्व समेत संलग्न भएर अभियान चलाउनेतिर हामी सोचिरहेका छौं’, उनले भने।
तीन महिनाभित्र टुंग्याउने भनिएको एकता टुंग्याएको भए पार्टीको स्थिति बलियो भइसकेको हुने प्रचण्डले बताए। ‘ढिला भए पनि सफलतासम्म आइपुग्यौं’, उनले भने। अहिलेको कम्युनिस्ट पार्टीको हैसियत कसैले माया गरेर नदिएको उनले बताए।