पार्टी एकता खल्बल्याउने देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्र परास्त गयौं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक बसेर केन्द्रीय कार्यक्रम र अभियान बनाएर देशव्यापी अभियानमा जाने बताएका छन् । केही महीनाभित्र पार्टी कमिटीलाई जनतासँग जोड्ने गरी अभियान सञ्चालन गरिने उनको भनाइ थियो ।

देशभित्र र बाहिर दुई पार्टीबीच भएको एकतालाई असफल पार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले कसैको दयामायाले आफूहरुले एक्लै दुई तिहाइ मत नपाएको प्रस्ट पारे। ‘हिजोका राजा महाराजाको दयामायाले हामी यो स्थानमा आएका होइनौँ’, उनले भने, ‘हामीले लडेर, सङ्घर्ष गरेर, जनतासँग एकाकार भएर, जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्ने प्रक्रियामा त्याग, तपस्या र बदिलानका थुप्रै कीर्तिमान कायम गर्दै खोसेर लिएको हो ।’



उनले देशको स्थायित्व र आर्थिक समृद्धिका लागि पार्टी एकता आवश्यकता छ भन्ने बोध गरेर मात्र दुई पार्टी एकता गरिएको प्रस्ट पारे । ‘प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरिएको होइन, पार्टी एकता खल्बल्याउने देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हामीले परास्त गयौं’, अध्यक्ष दाहालले भने, ‘हाम्रा उम्मेदवार, घोषणापत्र र पार्टी एकता गर्ने सङ्कल्पलाई देशैभरि जनताले अनुमोदन गरेका छन् ।’

उनले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्षले जनताले विश्वास गरेर दुई तिहाइ प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहनाअनुसार काम गर्नुपर्ने चुनौती रहेको पनि दोहोर्याए ।

उनले भने, ‘हामी कम्युनिष्टहरूलाई हराउने भनेको हामीभित्रको अहङ्कार हो । प्रतिक्रियावादीले हामीलाई हराउन सक्दैन ।’ उनले शोभियत सङ्घ र युरोपका कम्युनिष्ट पार्टी पतन भएको आन्तरिक कारण नै प्रमुख रहेको बताए।

जनताको मन जित्ने गरी सम्पूर्ण नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले असल व्यवहार, आचरण देखाए मात्र जनताले समर्थन गर्ने बताए ।

सम्बन्धित समाचार