मधेश जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने खाँचो औंल्याएका छन् ।
प्रदेश नं– २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि आज जनकपुरधाम विमानस्थलमा आयोजित छलफल कार्यक्रममा उनले चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्दहुनु जरूरी छ भने । चुरेलाई बचाउन स्थायी रूपमा समाधान खोज्नु आवश्यक छ भन्दै उनले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नु अपरिहार्य भइसकेको बताए ।

सरकारको सम्पूर्णशक्ति बाढीपीडितलाई राहत उपलब्ध गराउन जुटेको बताउँदै उपप्रधानमन्त्रीले अब क्षतिको विवरण आइसकेपछि पुनःनिर्माण कार्यमा जुट्ने विश्वास दिलाए । उनले अहिले नदीहरूको जल सतह मात्रै घटेको र वर्षायाम बाँकी नै रहेकाले प्रदेश नं २ का मुख्य नदी वाग्मती, लालबकैया, खाँडो, कमलालगायत नदीका बाढी नियन्त्रणको उपाय यथाशीघ्र पहिल्याउनु आवश्यक रहेको बताए ।



प्राकृतिक विपद्बाट जोगाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक भएको भन्दै उनले यथाशीघ्र उद्धार र राहतका लागि प्राधिकरण गठन गर्ने कानूनी कार्यसम्पादनमा लाग्ने पनि जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाढीले सबैभन्दा अधिक प्रदेश नं २ प्रभावित भएको, तीन दर्जनजति मानिसको मत्यु र अर्बौको क्षति र पूर्वाधार नष्ट भएको जानकारी दिँदै सङ्कटलाई सामना गरी उद्धारकार्य सम्पन्न गरिए पनि अब पुनःनिर्माणमा जुटेर यसको स्थायी समाधान खोज्नु आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार