नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहरू अघि बढेको बताएका छन्।
नेकपा जिल्ला कमिटी नवलपुरद्वारा पार्टी केन्द्रीय सदस्य एवं सङ्घीय सांसद तिलक महतका आमा नन्दकलीको छैटौँ पुण्य तिथिका अवसरमा कावासोतीमा आयोजित श्रद्धाञ्जलिसभामा पार्टीको गण्डकी प्रदेशका इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीभित्र मौलाएको विसङ्गति र विकृतिका विरुद्धमा सङ्गठित भएर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए ।
कोराला, पोखरा भिमाद हुँदै पूर्वपश्चिम राजमार्ग जोड्दै सुस्ता पूर्व त्रिवेणीसम्म सडक निर्माण गर्ने प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले त्यसका लागि कतिपय कानूनी अड्चन फुकाउन सङ्घीय सरकारले ढिलासुस्ती गरेको धारणा राखे ।
गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्ष ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेपनि कर्मचारी अभाव, विभिन्न ऐन नीति, कार्यविधि समयमा निर्माण हुन नसक्दा सोचे अनुसारको खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले चालू आर्थिक वर्षमा लक्ष्य प्राप्तिका लागि समयमै विकास निर्माणमा जुट्ने बताए ।
कावासोतीस्थित आफ्नो निवासमा दुःखमा बसेका सांसद महतले आमाको प्रेरणाले आफु राजनैतिक क्षेत्रमा लाग्न सफल भएको बताए । पार्टीको नवलपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य रोशन गाहामगरले पार्टीको जुनसुुकै अवस्थामा पनि सहयोग पुर्याउँदै आएको आमा नन्दकलीको निधनले अपुरणीय क्षति पुगेको बताउँदै अग्रजले देखेका सपना पूरा गर्न सिङ्गो पार्टी पङ्ति सङ्गठित भएर लाग्नुपर्ने धारणा राखे ।