सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा आफूले खरिद गरेको तरकारीको बिलविजक देखाउन आनाकानी गर्ने कालीमाटीका आठ व्यवसायी र बल्खु तरकारी बजारका ११ व्यवसायीमाथि कारवाही गरेको हो ।
किसान तथा कृषि उपज सङ्कलन केन्द्रबाट तरकारी खरिद गरेको बिजविजल नदेखाउने बल्खुका १० र कालीमाटीका छ व्यापारीलाई जनही रु पाँच÷पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बल्खुस्थित तरकारी बजारमा बिचौलियासमेत फेला परेको थियो । एउटा पसलबाट तरकारी नाफा खाएर सोही ठाउँको अर्को पसलमा बेच्ने धन्दा चलाउँदै आएका ती बिचौलियालाई विभागको अनुगमन टोलीले ठाउँका ठाउँ रु २० हजार जरिवाना गरेको छ ।
खरिदसम्बन्धी कुनै पनि विवरण नदेखाउने कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई जनही रु १०-१० हजार जरिवाना गरिएको विभागले जनाएको छ । विभागको टोली अनुगमका लागि बजार प्रवेश गर्दा उपभोक्ताको ढाड सेक्न पल्किएका व्यापारी स्टलनै छाडेर भागेका थिए ।
तरकारी बजारमा बिचौलिया र ढुवानीकर्ताको पनि अनुगमन गर्ने उद्देश्यका साथ सो स्थानमा पुगेका भए पनि उनीहरु राति नै फर्कने गरेको भेटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।