नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गरे ।
पीडितको अवस्था बुझ्न लहान पुगेका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिए ।
उनले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरे । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको र बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए ।