पर्साको ठोरीमा सबै भन्दा बढी वर्षा, बाढीको सतह ह्वातै बढ्यो

पछिल्लो २४ घण्टामा देशको १३४ स्थानमा गरिएको बर्षाको मापन अनुसार पर्साको ठोरी क्षेत्रमा सबै भन्दा बढी वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ठोरीमा १२२.४ मिलिमिटर वर्षा भएको हो । देशको १३४ स्थानमा महाशाखाले गरेको मापन अनुसार ठोरी क्षेत्रमा सबै भन्दा बढी भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

यस्तै परासीमा पनि ठोरी क्षेत्रमा जतिकै पछिल्लो २४ घण्टामा १२२.४ मिलिमिटर वर्षा भएको जनाएको छ । महाशाखाका अनुसार मकवानपुर गढीमा १२०.८ र कपिलवस्तुमा ११४.६ मिलिमिटर वर्षा भएको छ ।



ठोरी क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ । साँझसम्म नै भारी वर्षा हुने सम्भावना रहेको भन्दै वाढी पूर्वानुमान महाशाखाले सचेत रहन ठोरीका सर्वसाधरणलाई मोवाइल मार्फत सूचना प्रवाह गरेको छ । गएरातिदेखि यो समाचार तयार पार्दासम्म भारी वर्षा भइरहेकोले ठोरी क्षेत्रमा रहेका अमुवा, ढेडु, ठुटे, चिताह लगायतका खहरेखोलाहरुमा बाढीको सतह ह्वातै बढेको शसस्त्र प्रहरी ठोरीका प्रहरी निरीक्षक अमरवहादुर विकले जानकारी दिए ।

भारी वर्षा र बाढीका कारण वीरगंज ठोरी तथा ठोरी माडी सडकखण्ड समेत अवरुद्ध हुन पुगेको छ । चितवनको माडी क्षेत्रमा रहेका हरिनगर स्थित वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा ११३.६ र वनकट्टामा ७९.५ मिलिमिटर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार