नेकपा सचिवालय बैठक बिना निष्कर्ष सकियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पनि बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाँकिएको बैठक बिना निष्कर्ष सकिएको हो ।

मुख्यत स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक सकिएको हो । माधवकुमार नेपालले अझै गहन गृहकार्य गर्न बाँकी रहेकाले आजको बैठक सकिएको जानकारी दिए । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा विवाद हुँदै आएको छ ।



स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की समेतको दाबी छ । प्रवक्ता श्रेष्ठले पार्टीमा रहेका कुनै पनि विभागका बारेमा निर्णय नभएकाले स्कुल विभागको मात्र विवाद नरहेको बताए । ‘कुनै पनि विभागका बारेमा कुनै निर्णय गरेको छैन, त्यसकारण कुनै एउटा विभागको विवाद छ भन्न मिलेन’, उनले भने ।

उनका अनुसार अर्को बैठक यही साउन २८ गते दिउँसो तीन बजेका लागि बोलाइएको छ । बैठकमा पार्टीका सबै केन्द्रीय निकायको एकीकरण र जिम्मेवारीकाबारेमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहाकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनसङ्गठनको एकीकरण र जिम्मेवारी निर्धारण गर्नेबारे समेत छलफल भएको उनले बताए ।

उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकता बारेमा सोध्ने, सल्लाह गर्ने तथा व्यवस्थित र परिमार्जित प्रस्ताव अर्को बैठकमा ल्याउनेसमेत निर्णय भयो ।’

सम्बन्धित समाचार