प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको घरघरमा सेवा पुर्याउनु नै सङ्घीयताको मर्म भएको बताएका छन् । सेवा प्रदायक निकायले पुरानो शैली परिवर्तन गरेमा मात्र व्यवस्था परिवर्तन भएको अनुभूति हुने उनको भनाइ थियो ।
मुख्यमन्त्री पौडेलले सबै व्यक्ति आआफ्नो क्षेत्रमा तीव्र गतिमा काममा लागे समृद्धि सम्भव हुने बताए । एकजुट भएर काम गरेमा मात्र समृद्धि आउने बताउँदै उहनले हरेक व्यक्तिले काम गर्नुपर्ने धारणा राखे ।
प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालय तथा उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयद्वारा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री पौडेलले उक्त धारणा राखे ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले आफ्ना मातहतका कर्मचारीलाई ४५ बुँदे निर्देशन दिए । मन्त्री नेपालले प्रत्येक कार्यालयलाई निर्देशनको पूर्ण पालना गर्न आग्रहसमेत गरे। “नीतिगत समस्या आए त्यसको समाधान गर्छु तपाईँहरु काम गरेर देखाउनुस्”, उनले भने । कुनै पनि कर्मचारीले भ्रष्टाचार गरे क्षमा नहुने उनको भनाइ थियो ।