प्रतिनिधिसभाद्धारा दुई विधेयक पारित, गणपूरक सङ्ख्या नपुग्दा पन्ध्र मिनेट बैठक स्थगित

प्रतिनिधिसभाको बिहिबारको बैठकले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७६’ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, मेटमणि चौधरी र भरतकुमार शाहले भाग लिँदै निर्यात र आयातबीच सन्तुलन कायम गरी नेपालको व्यापार घाटा कम गर्न सुझाव दिएका थिए ।



नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको अवस्थामा विधेयक चाँडै आउनुपर्दथ्यो भन्दै उनीहरुले वस्तु आयातमा कडाइ गर्न सुझावसमेत दिए । साथै स्वदेशी उद्योगलाई विधेयकबाट अप्ठ्यारो पर्न नदिन सरकार सचेत बन्न सांसदले सरकारसित आग्रह गरे । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सरकारले स्वदेशी उद्योगको संरक्षणमा ध्यान दिएको छ भने ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गरिन् ।

पन्ध्र मिनेट बैठक स्थगित

यसअघि ती विधेयक पारित गर्न बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । संविधानको धारा ९४ अनुसार विधेयक पारित गर्न बैठकमा एक चौथाइ अर्थात् ६९ सदस्य आवश्यक पर्दछ । तर आजको बैठकमा ४१ जना सदस्य मात्र उपस्थित थिए ।

सांसद देवप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्न गणपूरक सङ्ख्या नपुगेको भनी बैठकमा आपत्ति जनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित समाचार