गत साउन १८ गते मात्र सिंगापुर गएर १० दिन बसी स्वास्थ्य उपचार पछि साउन २७ गते फर्केका ओली फेरि उपचारका लागि सिंगापुर जाने भएका छन्। उनको स्वास्थ्यमा फेरि समस्या देखिएकाले फलोअप उपचारका लागि जान लागेका हुन्। कति गते जाने भन्ने निश्चित नभएपनि चाँडै जान लागेको प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेका क्याबिनेट चिकित्सक डा. दिलिप शर्माले बताए। उनले भने, ‘चाँडै नै फलोअपको लागि जाने तयारी भएको हो, तर मिति भने टुंगो लागिसकेको छैन।‘
साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए। तोकिएको समयभन्दा दुई दिन ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किएका थिए। १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय लगातार समस्या देखिँदै आएको छ। उनको रगतमा क्रेटिनाइन र प्रोटिन बढी भएको चिकित्सकहरूले बताएका छन् जसले गर्दा उनलाई प्रत्यारोपण गरिएको मिर्गौलाले बिस्तारै काम गर्न छोडेको उनको उपचारमा संलग्लन चिकित्सकहरूले बताउँदै आएका छन्।
सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएलगत्तै पार्टी एकता र सरकारको काममा उनी व्यस्त भएकाले धपडीका कारण पनि उनलाई स्वास्थ्यमा थप समस्या देखिएको बताइएको छ।