सुप्रसिद्ध भारतीय संगीतकार खय्याम रहेनन्

भारतका सुप्रशिद्ध संगीतकार जहूर खय्यामको निधन भएको छ । भारतीय चलचित्र जगतमा उत्कृष्ट संगीतका कारण स्थापित तथा सुप्रशिद्ध भएका संगीतकार खय्यामको सोमबार राति निधन भएको हो । ९३ वर्षका उनी लामो समयदेखि बिरामी थिए ।

मुम्बईको एक अस्पतालमा उनको उपचार भइरहेको थियो । पछिल्लो केही दिनदेखि उनको अवस्था गम्भीर थियो । फोक्सोमा इन्फेक्सन भएपछि उनलाई केही दिनअघि आइसियूमा राखिएको थियो ।



उपचारकै क्रममा उनको सोमबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको निधनमा भारतका दिग्गज अभिनेताहरुले शोक व्यक्त गरेका छन् ।

संगीतकार खय्यामले आफ्नो जीवनकालमा धेरै चलचित्रमा संगीत दिए । उनले कभी कभी तथा उमराव जान जस्ता चलचित्रमा संगीत दिएका छन्, जसका लागि उनले फिल्मफेयर अवार्ड पनि पाए । उनी पद्य भूषणसहितका अन्य धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन् ।

उनले हीर राँझामा संगीत दिएर चलचित्र संगीतको सुरुवात गरेका थिए । उनलाई पहिलो पटक सफलताको स्वाद दिलाउने गीत बनेको थियो मोहम्मद रफीको स्वरमा रहेको ‘अकेले में वह घबराते तो होंगे’ बोलको गीत हो । त्यसपछि उनले आफ्नो करिअरमा पछि फर्केर हेर्नु परेन । खय्यामको जन्म पञ्जाबको राहोंमा भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खय्यामको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

खय्यामको संगीतमा रहेको ‘कभी किसीको मुकम्मल जहाँ नहीं मिलता’, तुम अपना रंज–गम, अपनी परेशानी मुझे दे दो’ सहितका गीतहरु अहिले पनि उस्तै चर्चित छन् ।

खय्यामले आफ्नो करिअरका सुरुका पाँच वर्ष शर्माजीको नामबाट संगीत दिएका थिए । त्यसपछि उनी खय्यामका रुपमा सुपरिचित भएका हुन् ।

सम्बन्धित समाचार