नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायत विषयमा छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको हाे ।
बुधबारको बैठकमा ती विषय प्रवेश पाए पनि थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक बिहीबारका लागि सारिएको थियो । यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाई समेत सम्पन्न गरी नयाँ सन्देश दिने तयारी गरेको जनाएको छ ।
यस्तै पार्टीका नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ । पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाएका छन्।