

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान भएको बताएका छन् । प्रोग्रेसिभ इञ्जिनीयरीङ एशोसिएशन नेपाल (पिन)ले ललितपुरको जाउलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको निरङ्कुश राजतन्त्र र सामन्ती व्यवस्थाको अन्त्यका लागि कुनै एउटा पार्टीले मात्र गरेको आन्दोलनले नभई सम्पूर्ण नेपालीको बलिदानीबाट भएको बताए । उहनले राजतन्त्र तथा सामन्तवादको अन्त्यका लागि नेपालमा कम्युनिष्टहरुको आन्दोलन नै महत्वपूर्ण रहेको र कम्यनिष्टको नेतृत्वले नै बुर्जुवा, सामन्त तथा राजतन्त्रको अन्त्य गर्न सफल भएको बताए ।
पहिलो तथा दोस्रो विश्वयुद्धसँगै समाजवादको यात्रा शुरु भएको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व तथा नेपालमा रहेको वर्ग सङ्घर्षलाई सार्थकतामा पुर्याउने जिम्मा नेकपाको काँधमा रहेको बताए । उनले भारतीय कम्युनिष्ट पार्टीको जस्तो गल्तीलाई दोहोरिन नदिएर नै नेपालमा कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए ।
उनले भने, “पूर्वी युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र सङ्घर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिष्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्, हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहिँ त्यस्तै देखिएको छ ।” यद्यपि त्यस्तो परिघटना दोहोरिन नदिने र निरन्तर जनतामा जाने वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक उपाय के हुन्छन् भनेर आफूहरु बहसमा रहेको अध्यक्ष दाहालले बताए ।
देशको विकास र समृद्धिलाई वैज्ञानिक तवरले अघि बढाउन इञ्जिनीयरहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्षले मनोवादका विरुद्ध वस्तुगत कुराको हाबी गराउँदै नेपालमा वैज्ञानिकता लागू गराउन इञ्जिनीयरहरुको योगदान अपरिहार्य रहेको औँल्याए ।
