कृति अवार्डमाथि एक सूक्ष्म दृष्टि

विषय प्रवेश :

आम मानिसहरूको बुझाइमा विज्ञापन भनेको कुनै वस्तु वा सेवाको बढाइ–चढाइ गरिने प्रचार सामग्री हो । यो कुरा आंशिक रूपमा सत्यको नजिक पनि होला, तर विज्ञापन त्यति मात्र होइन । कुनै वस्तु वा सेवामा अन्तर्निहित गुण, विशेषता, रहस्य वा प्रभावलाई आम मानिसले सहज रूपमा बुझ्ने गरी कलात्मक रूपमा प्रस्तुत गर्नु विज्ञापन हो । त्यसैले विज्ञापन कला पक्ष वा सिर्जना पक्षसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ । कृति अवार्ड कार्यक्रममा सिर्जनाका क्षेत्रमा लागेका सर्जकहरूको सिर्जनाको मूल्याङ्कन गरी सम्मान गर्ने थलो भएकोले विज्ञापन र सिर्जनाका क्षेत्रमा लागेकाहरूको लागि यो एउटा राष्ट्रिय पर्व नै हो । आजभन्दा सोह्र वर्षअघि आरम्भ गरिएको कृति अवार्ड कार्यक्रम नेपालमा मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि सवाधिक रुचि र चासो दिएर हेरिने अवार्ड कार्यक्रम हो । करिब ८० लाख दर्शक रहेको यस अवार्ड कार्यक्रमलाई नेपालका सबै टिभी च्यानलहरूले प्रत्यक्ष प्रसारण गर्ने गरेका छन् ।



विदेशको कुरा गर्नु पर्दा अमेरिकामा इफी अवार्ड १९६८ देखि हरेक वर्ष आयोजना गरिदै आएको छ । यस प्रतिष्ठित अवार्डमा हजारौ विज्ञापन सर्जकहरूले प्रतिस्पर्धामा भाग लिन्छन् । त्यस्तै छिमेकी देश भारतमा पनि हरेक वर्ष एडफेष्ट र अबि अवार्डजस्ता कार्यक्रहरू हुन्छन् जसलाई अत्यन्त सम्मानका साथ हेरिन्छ । र, यी कार्यक्रहरूलाई सर्वाधिक दर्शक तथा श्रोता भएका अवार्ड कार्यक्रमका रूपमा लिइन्छ ।

यस्ता कार्यक्रममा सहभागी भएका सिर्जनाको मूल्याङ्कन विधि पनि त्यति सहज हुँदैन । अवार्ड कार्यक्रम विवादरहित होस् भन्नका लागि सिर्जनामा समावेश विषयवस्तु र प्रस्तुतिलाई अत्यन्त सूक्ष्म रूपले निरीक्षण गरिने गरिन्छ । विदेशमा हुने गरेका सिर्जना सम्मानका कार्यक्रमहरूलाई नजिकबाट नियालेर नेपालमा हुने यस्ता कार्यक्रमहरूलाई आकर्षक र विवादरहित बनाउने कोसिस गरिन्छ ।

नेपालमा विज्ञापनको सुरुवात विसं १९६० को दशकबाट भएता पनि व्यवसायिक रूपमा विज्ञापनको आरम्भ विसं १९९० पश्चात्मात्र भएको पाइन्छ तैपनि अझै धेरै मानिसहरू वा व्यवसायीहरू नै पनि विज्ञापनको आवश्यकतालाई नबुझी विज्ञापनलाई अनावश्यक बोझ मान्दछन् । उत्पादित वस्तु वा सेवा राम्रो छ भने विज्ञापन आफैं हुन्छ, फजुलमा किन खर्च गर्ने भन्ने ठान्छन् । उनीहरू विज्ञापनमा हुने लगानीलाई खर्चका रूपमा हेर्छन् । विज्ञापनका लागि हुने खर्चलाई लगानीका रूपमा हेर्ने दृष्टिकोणको विकास भएपछि नेपालमा पनि विज्ञापनले अझै ठूलो फड्को मार्नेछ । अहिले पनि नेपालको विज्ञापन बजार १० अरबभन्दा माथि रहेको अनुमान गरिन्छ ।

प्राडा भोजराज अर्याल

पछिल्लो समयमा आएर विज्ञापन व्यवसायमा विज्ञापन एजेन्सी, विज्ञापन सर्जक, र विज्ञापन उत्पादन गर्ने क्रिएटिभ हाउसमा काम गर्ने व्यक्तिहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो अवस्थामा छ । विश्वविद्यालयहरूमा पनि विज्ञापन विषयलाई अध्ययन अध्यापनको प्राथमिकतामा राखिएको छ । भारत, बंगलादेश आदि देशहरूमा विज्ञापन सर्जकको सामाजिक प्रतिष्ठा सर्र्वािधक उच्च रहेको छ । छोटो समयमैं नेपालमा पनि विशेष सीप र सिर्जना भएका विज्ञापन सिर्जना गर्ने प्रतिभाहरूको सामाजिक प्रतिष्ठा बढ्दो छ । यो आफैंमा सुन्दर पक्ष हो । भन्ने गरिन्छ– कुनै पनि देशको विकासको मापनका त्यस देशको विज्ञापन उद्योग र विज्ञापित वस्तुको स्तरलाई हेरेर पनि गर्ने गरिन्छ । यसै आधारमा पनि नेपाल अन्य मुलुकहरूसँग एउटै पङ्क्तिमा उभिन सक्षम बन्दैछ ।

कृति अवार्डको मूल्याङ्कन प्रक्रिया :

कृति अवार्ड कार्यक्रम व्यवसायिक घराना, विज्ञापन एजेन्सी र विज्ञापन सर्जकहरू उपस्थित हुने सर्वाधिक ठूलो र आकर्षक कार्यक्रम हो । हजारौंको उपस्थितिमा कार्यक्रममा अवार्ड जित्नेहरूको शान पनि सामान्य हुँदैन । सहभागी सयौं प्रतिस्पर्धीहरूलाई उछिनेर अवार्ड हात पार्न सक्नु आफैंमा गर्वको विषय पनि हो र मौलिक सिर्जनाको सम्मानको विषय पनि हो । यस्तो अवस्थामा अवार्डको हारजितको मूल्याङ्कनचाहिँ कसरी गरिन्छ त ? यो चासो र जिज्ञासाको विषय हो ।

कृति अवार्डको आयोजक नेपाल विज्ञापन संघ (आन) हो । कार्यक्रमलाई विवादरहित बनाउन आयोजकले यसका विधि, विधान तथा प्रक्रियाहरू पारदर्शी प्रक्रियाबाट अघि बढाउँछ । आनले सर्वप्रथम मुख्य निर्णायक मण्डलको चयन गर्दछ । र, यस निर्णायक मण्डललाई नै अवार्डको आह्वान गर्न र विभिन्न विधाका जुरीको चयन गर्ने र मूल्याङ्कन विधि बनाउने अधिकार दिइन्छ । तत्पश्चात अन्य विभिन्न कार्यहरू एकैसाथ अघि बढ्दछन् ।

विधागत निर्णयहरू पनि निष्पक्ष र पारदर्शी होस् भनेर सचेतता अपनाइन्छ । मुख्य निर्णायक मण्डलबाट मूल्याङ्कन गर्न बनाइएको विधागत उपसमितिहरूमा सम्वन्धित क्षेत्रका तीनजना विज्ञ राखिएको हुन्छ । विश्वसनीयता र निष्पक्षताका लागि अवार्ड निर्णायक मण्डलीमा विज्ञापनसँग सम्बन्धित, अनुभवी र विवादरहित व्यक्तिहरू चुनिन्छन् । मूल्याङ्कनको समानता र पारदर्शिताको लागि यसरी चुनिएका व्यक्तिहरूलाई पनि मुख्य निर्णायक मण्डलद्वारा मूल्याङ्कनका विधि र पालना गर्नुपर्ने आचारसंहिताका बारेमा छलफल गराइन्छ र एकरूपता ल्याउने प्रयास गरिन्छ ।

सिर्जना मूल्याङ्कन गर्ने आधारहरू :

आयोजक नेपाल विज्ञापन संघद्वारा मुख्य निर्णायक मण्डलीको सल्लाहमा कृति अवार्डमा भाग लिनको लागि निश्चित समयमा प्रकाशित-प्रसारित सिर्जनालाई प्रतिस्पर्धा गर्नको लागि आह्वान गरिन्छ । प्रतिस्पर्धामा भाग लिनको लागि इन्ट्री फर्मसहित प्रकाशित पत्रिकाको कटिङ्ग, फोटो, भिडियो, प्रकाशित र प्रसारित सर्टिफिकेट तथा यसलाई प्रमाणित गर्ने आधारसहित आवेदन गर्नुपर्ने हुन्छ । त्यसपछि आवश्यक कागजपत्र छ कि छैन भनेर रूजु गर्ने कार्य हुन्छ । सबै प्रस्तावित विधामा परेका विज्ञापन सिर्जनालाई मौलिकता, सिर्जनशीलता, उद्देश्यमूलक र प्रभावकारिता आदिलाई प्रमुख आधार मानेर मूल्याङ्कन गर्ने विधि अपनाउने गरिन्छ । सिर्जना मूल्याङ्कन गर्ने सबै मानकहरूलाई विश्लेषण गरेर निर्णयक मण्डलका सदस्यहरूले आ–आफ्नो विवेकले अङ्क प्रदान गर्दछन् । हरेक निर्णयकलाई आफ्नो स्वविवेकका आधारमा पनि केही अङ्क दिन सक्ने व्यवस्था मिलाइएको हुन्छ । समूहका निर्णायकहरूले दिएका नम्बरहरू जोडेर हेर्दा जुन सिर्जनाले सर्वाधिक अङ्क पाउँछ, त्यसैलाई त्यस विधाको उत्कृष्ट सिर्जना भनेर किटान गरिन्छ । यसरी आन्तरिक रूपमा तयारी गरिएको परिणामलाई कोही कसैबाट प्रभावित नहोस् भनेर त्यसलाई सबैको रोहवरमा शिलबन्दी गरिन्छ । यसरी विभिन्न चरणमा भएका मूल्याङ्कनबाट उत्कृष्ट बन्न सफल सिर्जनालाई कार्यक्रमको अन्तिम दिन अर्थात् उत्कृष्ट सिर्जनाको घोषणा गरिन आयोजित विशेष कार्यक्रममा विजेताको औपचारिक घोषणा र ट्रफी वितरण कार्य सँगै गरिन्छ । हजारौं दर्शक, सर्जक, व्यवसायी, विज्ञापन एजेन्सीका प्रतिनिधिहरू तथा आमन्त्रित विशिष्ट पाहुनाहरूको उपस्थितिमा हुने कृति अवार्ड कार्यक्रम सम्भवतः नेपालकै भव्य र सभ्य कार्यक्रम हो, जहाँ उपस्थित हुनु पनि आफैंमा गर्वको विषय बन्दछ ।

सिर्जनाका विधाहरू :

प्रविधिको द्रूत गतिको विकासले गर्दा विगत दुई दशकमा विज्ञापन उद्योगको दायरा पनि फराकिलो बनेको अनुमान गरिन्छ । समयसापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै तथा विविध गतिविधिलाई पनि अवसर दिने क्रममा पछिल्ला दिनमा आएर अवार्डलाई मेन स्ट्रिम, टेक्निकल र क्याम्पेन गरी तीन वर्गमा वर्गीकरण गरी क्षेत्रअनुसार छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न सुरु गरिएको छ । मेन स्ट्रिममा डिजिटल प्रमोसन, इभेन्ट आउटडोर, रेडियो एड र टेलिभिजन एडजस्ता विद्यालाई समेटिएको हुन्छ भने टेक्निकल क्षेत्रमा एनिमेशन, आर्ट, क्यामरा वर्क, कपिराइटर फोटोग्राफी, इडिटर साउण्डजस्ता विधा राखिएको हुन्छ । त्यस्तै क्याम्पेन क्याटागोरीमा क्याम्पेन क्षेत्रका विभिन्न १३ क्षेत्रका क्याम्पेन बीच आन्तरिक प्रतिस्पर्धा गराइन्छ ।

दर्शक र श्रोताको सहभागिताको हिसाबले कृति अवार्ड नेपालको एकमात्र बृहत् अवार्ड कार्यक्रमका रूपमा विकसित हुन पुगेको छ । प्रविधिको विकास तथा नयाँ पुस्ताको प्रविधि प्रेमले गर्दा दर्शक र श्रोताको इच्छा आकांक्षा र चाहना पनि फरक हँुदै गएको पाइन्छ । २०६० सालमा कृति अवार्ड आरम्भ गर्दा केही दैनिक पत्रिका, सीमित टिभी च्यानल र सीमित एफएम रेडियोहरू मात्र सञ्चालनमा थिए । त्यसताका सूचना र मनोरञ्जनका साधनका रूपमा परम्परागत सञ्चारमाध्यमहरू मात्र थिए तर आजको परिस्थिति एकदमै भिन्न छ । अहिलेको पुस्ता न्यु मिडिया अर्थात इन्टरनेटमा आधारित सञ्चार माध्यमहरूमा अभ्यस्त देखिन्छ । त्यसैले पछिल्लो समयमा अनलाईन न्युज पोर्टल, युट्युब, टुइटर र इन्टाग्रामजस्ता इन्टरनेटमा आधारित माध्यमहरूको आकर्षण र बढ्दो प्रयोगले विज्ञापनदाताहरू पनि न्यु मिडियातिर आकर्षित हुन थालेका छन् । अतः अबका दिनहरूमा न्यु मिडियालाई आत्मसात् नगरी धरै छैन । न्यु मिडियामा जाने विज्ञापनको प्रकृति र प्रविधि पनि फरक हुने भएकोले आगामी दिनमा हुने कृति अवार्डहरूमा सामाजिक सञ्जालमा जाने सिर्जनालाई पनि यसभित्र समेटेनुपर्ने अवस्था आउनेछ । यो समयको माग पनि हो ।

सारमा–

प्रत्येक अवार्ड कार्यक्रमको अन्त्यसँगै ती कार्यक्रमका उपलब्धीहरूको पनि निर्मम समीक्षा हुन जरुरी हुन्छ जसले आगामी कार्यक्रमहरूका लागि मार्गदर्शक भूमिका निर्वाह गर्न सकोस् र समयसापेक्ष पनि बन्न सकोस् । उदाहरणका लागि कस्ता मानिसहरू विज्ञापन पेशामा लागेका छन् ? चुस्त र प्रभावकारी अर्र्थतन्त्रका लागि विज्ञापनको भूमिका कस्तो हुन सक्छ ? आगामी दिनहरूमा दर्शक-श्रोताहरूको मन कस्ता विज्ञापनहरूतिर बढी आकर्षित होला ? र अबको सिर्जना कस्तो हुनु वाञ्छनीय हुन्छ ? भनेर समीक्षा गर्न सकियो भने त्यो अझ प्रभावकारी हुने र पछिल्लो कार्यक्रमका लागि आधारशीला बन्ने छ ।

सम्बन्धित समाचार