अनुहार हेर्दा ठ्याक्कै घोडाजस्तो तर टाउकोमा घोडाको जस्तो जुरो हैन, दुईवटा सिङ छ । जीउ गाईको जस्तो तर रङ अन्य गाईभन्दा फरक नीलो छ । पुच्छर न घोडाको जस्तो न त गाईको जस्तो मझौलो आकारको छ । खुट्टामा कल्ली बाँधिदिएजस्तो सेतो काला धर्से रङले सुन्दर देखिन्छ । मृगझैँ दौडनसक्ने खुबी र चञ्चलपन उस्तै छ । यस्तो अनौठो दुईवटा भाले र एक पोथी नीलगाई यतिबेला राजधानीस्थित चिडियाखानाको शोभा बनेको छ ।
यिनलाई चिडियाखानाले पारस र पवन नाम दिएको छ । अर्की सानी कान्छीको नाम भने उद्धारमा संलग्न स्थानीयले नै राखिदिएका हुन् । कसैकसैले यसलाई घोडगधा पनि भन्छन् । जाउलाखेलनजिकै बस्ने दिदीभाइ सम्पन्ना बस्नेत र सूचक बस्नेत घरीघरी नीलगाई हेर्न पुग्छन् । ‘गाईजस्तो सिङ छ, घोडाजस्तो खुट्टा र अनुहार छ,’ सम्पन्नाको भनाइ छ, ‘अचम्म लागेर हेर्न आउँछौँ ।’ उनीहरू मात्र हैन, छुट्टी मनाउन आउने बालबालिका, अभिभावक र नवआगन्तुक पवन र पारस देखेर अनौठो मान्छन् भन्ने खबर गोरखापत्र दैनिकमा छ।
‘दुईवटा छुट्टाछुट्टै घर तर एकअर्काको आमनेसामने बस्छन्,’ चिडियाखानाका सूचना अधिकृत लीना चालिसे भन्छन्, ‘घरी चिनेझैँ गर्छन् घरी अलि पर बसेर एकअर्कालाई नियाल्छन् ।’ उनले फरक क्षेत्रबाट आएका पारस–पवन आपसमा चिनजान गर्ने कोसिस गरिरहेका छन् । सोमबार मात्र चिडियाखाना प्रवेश गरेकी कान्छी भने आफूजस्तै दुई नीलगाई देखेर फुरुङ्ग छे । रूपन्देहीमा अलपत्र अवस्थामा उद्धार गरी ल्याइएको कान्छीलाई भने पवनसँग राखिएको छ ।
‘भालेसँगै हुँदा झगडा हुने बढी सम्भावना हुन्छ तर पोथी भएकाले होला, पवन रिसाएको छैन,’ चालिसे उनीहरूको गतिविधि सुनाउछन, ‘कान्छी फकाउने मेसोमै पवन र पारस पनि नजिकिन्छन् होला ।’ कान्छी करिब ११ महिनाको भई । सानी कान्छी देख्दा भाले नीलगाई मात्र हैन, चिडियाघर डुल्न आउने पनि थप खुसी छन् । भालेपोथीसँगै भएपछि चिडियाखानामै नीलगाईको सन्तान बढ्ने अपेक्षा चिडियाखाना प्रशासनले गरेको छ ।