काठमाडौं उपत्यकामा डेङ्गुका बिरामी बढ्न थाले

वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।

पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठमाडौं उपत्यकामा डेङ्गुका बिरामी बढ्न थालेका छन् भने चिकित्सक तथा नर्सहरूमा समेत डेङ्गु सङ्क्रमण देखिन थालेको छ । डेङ्गुको उच्च जोखिम बढेपछि नियन्त्रणका लागि सरोकार निकाय क्रियाशील भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकार सबै पक्ष मिलेर डेङ्गुविरुद्ध अभियान चलाउन आह्वान गरेको छ ।



नेपालको एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई चिकित्सक, तीन नर्स, तीन कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेङ्गुको सङ्क्रमण भएको छ । अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले काठमाडौंँमा डेङ्गु उच्च जोखिमका रूपमा देखा परिसकेको जानकारी दिँदै सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताए।

दुई जना डाक्टरसहित नर्स, पारामेडिक्स र कार्यालय सहयोगीसम्मलाई डेङ्गुको सङ्क्रमण भइरहेको जानकारी दिँदै उनले थपे, “तीमध्ये एक जना डाक्टर काममा फर्कन थालिसके, अर्का एक जना भने उपचारपछि घरमै आराम गरेर बसेका छन् ।” नर्स, पारामेडिक्स लगायतको टेकु अस्पतालमै उपचार भइरहेको छ । यो खबर बिहिबारको गोरखापत्रमा प्रकाशित छ ।

सम्बन्धित समाचार