नेपाल एयरलाइन्सको विमानबाट बुधबार बिहान ८।४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका सन्तोषकुमार नेपाली विमानस्थलभित्रै पक्राउ परे । वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी फर्कने क्रममा समाताएिका हुन् । कारण थियो उनले ल्याएको दुई चक्कुको बिँड । त्यसभित्र ४ सय ४२ ग्राम सुन लुकाइएको थियो ।
ठूलो प्रकृतिका संगठित सुन तस्कारी घटना दृश्य नदेखिए पनि पछिल्ला दिनमा तस्करीका शैली बदलिएका छन् । सन्तोषको प्रारम्भिक बयान अनुसार दोहा विमानस्थलमै भेटिएका पोखरा घर बताउने एक अपरचित व्यक्तिले त्यो चक्कु पठाएका थिए । त्यस वापत चिया खर्च भनेर ५ सय रुपैयाँ दिइएको छ ।
नेपालीले दाजुभाइको घर लैजाने सामान भन्ठानेर चक्कुको बिँड ल्याएको बताएका छन् । त्यसभित्र सुन छ भन्ने आफूलाई थाहा नभएको उनको भनाई छ । चक्कुको बिंँड लिन विमानस्थल आएका सृजन घले पनि पक्राउ परेका छन् । विमानस्थलका एसपी कृष्ण कोइरालाका अनुसारका घले सुन पठाउनेका सालाका साला भन्ने बुझिएको छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।