–मनाेज राज रेग्मी
काठमाडौं, २३ भदाै ।
संकल्प सफलताको लागि सर्वोत्तम महत्वपूर्ण आवश्यक चीज हो । यो विना हामी कहिल्यै पनि आफ्नो लक्ष्यमा पुग्न सक्दैनौं । म यो विश्वास गर्दछु कि यदि तपाई आफ्नो लक्ष्य प्राप्ति गरेर सफल हुन चाहनुहुन्छ भने तपाईमा आत्म संकल्प हुनुपर्दछ । यो विना कार्यको दौरानमा यदि तपाईका सामु कठिनाईहरु आए अथवा केही कुराले तपाईलाई पछाडि तान्यो भने संभवत तपाईले त्यो कार्य त्याग्नुहुन्छ र कहिल्यै पनि त्यो कठिनाईलाई पार गर्न सक्नुहुन्न । अरु व्यक्तिले केही समयको लागि तपाईलाई उत्प्रेरणा, हौसला दिन सक्दछन् तर अन्त्यमा र साँचो रुपमा सफलता पाउनको लागि तपाईलाई तपाईको संकल्प, समर्पण र लक्ष्य प्राप्तिको लागि तपाईको प्रतिक्षण जुझारु बन्ने स्वभावले नै मद्दत गर्दछ ।
निरन्तर रुपमा तपाईलाई सफलताको लागि आत्म संकल्प र मजबुत इच्छाशक्तिको जरुरत पर्दछ । आत्म संकल्प लिन त्यति सजिलो छैन । मैले यो काम गर्दछु, कुनै हालतमा गर्दछु भनेर मनमनै भन्नु, डायरीमा प्रतिज्ञा गर्नु आत्म संकल्प होइन । सामान्यतः आफूले गरेको गल्तीको बोध यो संसारमा सबैलाई हुन्छ । पढ्ने विद्यार्थीलाई नपढ्दा मैले पढेको छैन भन्ने बोध हुन्छ, थाहा हुन्छ तर यी सबै कुरा थाहा पाउँदा पाउँदै पनि उसले यथार्थ र व्यवहारिक रुपमा पढ्न सक्दैन । “म पढ्छु, अब म भोलि देखि बिहान ५ बजे उठेर पढ्छु” भनेर उसले भन्छ, घडीको अलार्म पनि कराउन हाल्छ तर जब घडी कराउँछ, एकछिन पछि उठुँला भनेर उ वर्तमानबाट पन्छिन्छ र फलतः उसले यसो गर्दै समय खर्च गर्दै गइरहेको हुन्छ । त्यसैगरी विभिन्न मानिसहरुले कुनै खास समयमा गर्नुपर्ने कामलाई भोलि गरौंला, एकछिन पछि गरौंला भनि पन्छाउँदै जान्छन् । धेरै जसो मानिसहरुसँग आलटाल गर्ने बानी हुन्छ त्यस्तो व्यक्तिलाई समयको चोर भनिन्छ । तिनीहरुको उपयुक्त समय कहिल्यै आउँदैन । त्यसकारण आत्मसंकल्प लिनुपर्दछ भने पनि मानिसहरु लिन सक्दैनन् । फेरि यो केही क्षणको जोश वा १, २ दिनको संवेग पनि त होइन । फेरि अर्को कुरा धेरै जसो मानिसहरुमा १, २ दिन त कुनै काम गर्ने जोश जागेर आउँदछ अनि विस्तारै सेलाएर जान्छ ।
त्यसो भए संकल्प भनेको के हो त ? संकल्प भनेको मानिसमा भएको त्यस्तो क्षमता हो, आत्मशक्ति हो जसबाट मानिस जस्तो सुकै समस्या र कठिनाईहरु आए पनि उसले सोंचेको उसले चाहेको कुरा उसले गरेरै छाड्दछ । त्यो कुरा पाउन उसको हौसला हिमाल झै उच्च हुन्छ भने उसको हिम्मत समुद्र जस्तै गहिरो हुन्छ । उसलाई साना साना समस्याका आँधीले डेग चलाउन सक्दैन । उ पहाड झै अडिग र चट्टान झै दह्रो भएर आफ्नो कार्यमा अगाडि बढीरहन्छ र आफ्नो लक्ष्य प्राप्त गरेरै छाड्दछ । त्यो कुरा प्राप्तिको लागि उ हतार हुँदैन, उसमा असीम धैर्य हुन्छ, आत्मविश्वास हुन्छ, हौसला हुन्छ ।
संकल्प मानिसमा हुने महत्वपूर्ण गुण हो । यो संकल्पबाट नै दृढ इच्छाशक्ति, आशावादीता र विभिन्न अरु सद्गुणहरुको जन्म हुन्छ । जब मानिस आफ्नो काममा संकल्पशिल हुन्छन्, उनीहरुमा कठिनाईको समयमा पनि काम गर्ने जोश, जाँगर र उमंग हुन्छ, आफ्नो लक्ष्यमा पुग्नको लागि, उनीहरुले आफूलाई सकेसम्म अगाडि धकेल्दछन् । वास्तवमा संकल्प निकै शक्तिशाली चारित्रीक गुण हो जसले मानिसको जीवनलाई प्रभाव पारेको हुन्छ ।
तपाईको आफ्नो सपना र लक्ष्य तब सम्म पुरा हुँदैन जब सम्म त्यो प्राप्तिको लागि तपाईमा संकल्प हुँदैन, कठिनाईका साथ कार्य गर्ने हौसला हुँदैन । तपाई जबसम्म सँधै आफ्नो काममा दत्तचित्त भएर लाग्नुहुँदैन तबसम्म तपाईले आफ्नो पूरा संभावनालाई प्राप्त गर्न सक्नुहुँदैन । संकल्पशिल भएर नै तपाईलाई अगाडि बढ्ने हौसला जागेर आउँछ । जब तपाईले चाहनुहुन्न, तब पनि तपाईको संकल्पले गर्दा तपाईलाई अतिरिक्त बल मिल्दछ ।
सबै ठूला ठूला व्यक्तिहरु जसले जीवनमा धेरै कुरा प्राप्त गरेका छन् तिनीहरु कडा परिश्रम, प्रतिबद्धता र संकल्पको कारणले सफल भएका हुन् । तपाई बिहान जागेर त्यत्तिकै जीवनका सबभन्दा कठिन कार्यहरु गर्न सक्नुहुन्न तर तपाई उठेर ती कार्यहरु गर्ने निर्णय गर्न सक्नुहुन्छ । प्रत्येक कुरा कुनै समयमा प्रगति भैरहेको हुन्छ भने समय आएपछि त्यो प्राप्ति हुन्छ ।
एउटा संकल्पशिल व्यक्तिलाई प्राथमिकता आवश्यक चीज हो यो कुरा थाहा पाउन कि गरिरहेको काम मध्ये कुन कामलाई कति प्राथमिकता दिने ? प्राथमिकता बनाउनाले तपाईको लक्ष्य प्राप्ति गर्न तपाईलाई सजिलो हुन्छ । उदाहरणको लागि, माइकल जोर्डनलाई उसको हाइस्कुल बास्केटबल कोचले भनेका थिए कि उनी बास्केटबलमा राम्रो छैनन् र उनी कहिल्यै टिममा सामेल हुन सक्दैनन् । माइकलले यो कुरालाई हल्का गरी लिएनन्, उनले आफूलाई हतोत्साही हुन दिएनन् । कोचको भनाईलाई उनले चुनौतीको रुपमा स्वीकार गरे । उनले कहिल्यै नगरेको भन्दा एकदम कडा परिश्रम गर्न थाले । प्रत्येक रात जब उनी स्कुलबाट घर आउँथे, उनी बाहिर जान्थे र बास्केटबलको नेटमा कैयौं शट हान्दथे, केही शट वा दश वा २० शट होइन कि उनले हजारौं शट हिर्काउँथे अनि मात्र उ घरभित्र जान्थे । उ जति राम्रो बन्न सकिन्छ बास्केटबलमा त्यो बन्नको लागि पूर्ण प्रतिबद्ध भएर लागेका थिए र अन्ततः उनको परिश्रमले काम ग¥यो । सन् १९८१ मा माइकलले बास्केटबलमा एउटा छात्रवृत्ति पाए र सन् १९८४ मा उनी NBA Draft मा प्रवेश गरे र पछि उनी शिकागो बुलमा तेश्रो खेलाडीको रुपमा छानिए । उनको संकल्पले उनलाई आफूले चाहेको कुरा प्राप्त गर्न सम्भव गरायो यद्यपि उनको कोचले उनले बास्केटबलमा राम्रो गर्न सक्दैनन् भनेका थिए । तर उनले कोचको त्यस भनाईलाई अस्वीकार गरी गलत सावित गरिदिए ।
त्यसैगरी नेपालकी झमक घिमिरेले पनि आफ्नो शारीरिक अशक्तताका बाबजुद जीवन काँडा कि फुल भन्ने किताब लेखेर मदन पुरस्कार जित्न सफल भइन् । उनलाई पनि पहिले समाजकै सदस्यबाट हेला, तिरस्कार बेहुर्नु परेको थियो तर उनी कत्ति पनि विचलित नभई दृढ संकल्प लिई समाजमा आफ्नो पहिचान बनाएरै छाडिन् । यस्ता हामीले सयौं उदाहरणहरु दिन सकिन्छ जसले संकल्प शक्तिको भरमा संसारमाथि विजय प्राप्त गरेका छन् ।
यसरी नै हात खुट्टा दुवै नभएका नीक भुजिसीक पनि शारीरिक अशक्तताका बाबजुद विश्व प्रसिद्ध मोटिभेशनल स्पीकर बनेर हजारौं तथा लाखौं मानिसहरुको प्रेरणाको स्रोत बनेका छन् । यति मात्र होइन उनी पौडी खेल्ने लगायतका शौकहरु पनि मजाले पुरा गर्दछन् । उनले बिहे पनि गरेका छन् र उनका छोराछोरीहरु पनि छन् । उनी अहिले आफ्नो परिवारसित सुखपूर्वक जीवन बिताइरहेका छन् ।
संकल्पशील व्यक्ति साधारणतया आशावादी हुन्छन् जुन व्यक्तिको लागि असल गुण हो किनकी यो पनि सफलताको लागि अपरिहार्य कुरा हो । कुनै पनि चीजको छायाँलाई नहेरि त्यसको उज्यालो पक्षलाई हेरेर कार्य गर्नु एउटा निकै राम्रो क्षमता हो । तर संकल्प नभएका व्यक्तिहरु कुनै पनि घटनाको वा चीजको उज्यालो पक्ष नहेरेर उनीहरुले जे पाएका छन् चाहे त्यो अन्धकार पक्ष नै किन होस्, त्यसैमा रुमल्लिरहन्छन् । आशावादीताले तपाईले गरेको कार्यलाई राम्रोगरी गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
संकल्प त्यस्तो गुण हो जसले तपाईको जीवनलाई सफल बनाउँदछ । यो विना तपाईले जीवनमा ठूला कुराहरु प्राप्त गर्न सक्नुहुन्न अर्थात तपाईले आफ्नो जीवनलाई अझ राम्रो बनाउन सक्नुहुन्न । तपाईको जीवन तपाईको हो र तपाईको हृदयले चाहेको कुरा प्राप्त गर्ने तपाईको अधिकार हो र संकल्पलाई यो कार्यलाई मद्दत गर्दछ । संकल्पशिल भएर तपाईले भोलिको, भाविष्यको ढोका खोल्नुहुनेछ र तपाईको जीवनमा खुशीको आगमनलाई सुनिश्चित गर्नुहुनेछ ।