मनाेज राज रेग्मी
काठमाडौं, ६ असाेज ।
हामीले जिन्दगी तब मात्र आनन्दपूर्वक जीउन सक्छौं जब हामीसँग जे छ त्यसैमा रमाएर जिउने प्रयास गर्दछौं, त्यो भन्दा बढी खोजेर होइन । यसको मतलब अगाडि बढ्न नखोज्नु भनेको होइन तर वर्तमानमा आफूसँग भएको कुरालाई लिएर सन्तोष पनि मान्न सक्नुपर्दछ ।
प्रायशः यो देखिन्छ कि विभिन्न सामाग्रीहरु जोडेर पनि आफूले भने जस्तो सफलता नमिलेपछि हामीलाई हीनताबोध हुन्छ र हीनताको स्थितिमा मानिस सँधै दुःखी हुन्छ । यदि शाब्दिक अर्थलाई हेर्ने हो भने हीनको अर्थ हुन्छ अभाव वा कमी र हीनता त्यो अनुभव हो जसले हामीभित्र कमी खोज्नलाई हामीलाई मजबुर गराउँछ । जब हामी मान्दछौं कि हामी भित्र अन्य व्यक्तिको तुलनामा केही कमी छ, हामी अरु जस्तो सुन्दर छैनौं वा हाम्रो घर, नोकरी अरुको जस्तो राम्रो वा शानदार छैन तब हामी भित्र हीन भावनााको ग्रन्थिले आफ्नो हैकम जमाउन थाल्दछ, हाम्रो मन संकुचित हुन थाल्दछ र हामीले प्रयास गर्न छोडिदिन्छौं । प्रकृतिलाई नै हेर्नोस्, बाँझो जमीनमा झारपातहरु उम्रन थाल्दछन् ।
हीन भावनाले ग्रस्त व्यक्ति आफ्नो निष्क्रियताको दोष अरुलाई दिन थाल्दछ । आफूमा भएको कमीलाई देखेर उ जीवनदेखि दिक्क मान्न थाल्दछ । हीनताको शुरुआत तुलनाको धरातलमा हुन्छ । जब तपाई आफ्नो सन्तानहरुको तुलना अरु कुनै बच्चासँग गरेर जब उसलाई भन्नुहुन्छ, “तिम्रो अंक अरु बच्चाको तुलनामा कम छ । तिमी अरु जस्तो ट्यालेन्ट छैनौं ।” तब तपाईं यो सोच्नुहुन्न कि यसले बाल मस्तिष्कलाई आघात गर्दछ र उ भित्र हीनताको ग्रन्थिको बिजारोपण हुन थाल्दछ । जब जब बच्चा ठूलो हुँदै जान्छ उसको तुलना पनि बढ्दै जान्छ र त्यही अनुपातमा उसको हीनता पनि बढ्न थाल्दछ र उसको आत्मविश्वास र सामथ्यमा खिया लाग्न थाल्दछ । अनि बच्चा जब वयस्क हुन्छ तब उसलाई लाग्दछ उसको प्रतिभा, ट्यालेन्ट साँच्चै नै कम छ । यो हीन गन्थिको अभिव्यक्ति उसको व्यक्तित्वमा अतिसंवेदनशीलता, भावुकता, निष्क्रियता जस्ता विकारको रुपमा झल्किन थाल्दछ ।
अतिसंवेदनशीलता र भावुकताको अर्थ हुन्छ कि व्यक्ति डराएको छ । उ आफ्नो लक्ष्मण रेखाभन्दा बाहिर आउने बारेमा सोंच्न सक्दैन किनकी उसलाई लाग्दछ ठूलो सपना देख्नु, त्यसलाई पाउने कोशिस गर्नु उसको सीमाभन्दा बाहिरको कुरा हो । हीन ग्रन्थिले गर्दा उ सिकुडिन थाल्दछ र संकोची हुन थाल्दछ ।
यो कुरा बुझ्नको लागि एउटा उदाहरण लिऔं । मानौं कि कुनै सार्वजनिक मीटिंगमा एउटा व्यक्ति जान्छ । उ चुपचाप गएर बस्छ र उ त्यही व्यक्तिहरुसँग कुरा गर्दछ जो उसको नजीक छन् । नयाँ व्यक्तिसँग कुरा गर्ने, घुलमिल गर्ने उसमा सहास हुँदैन । सानो सानो गल्तीमा पनि उ स्पष्टीकरण दिने कोशिस गर्दछ । यो स्वभाविक हो कि उसमा आत्मविश्वासको कमी छ जुन हीनताको परिचायक हो ।
कुनै तराजुमा एकातिर सामान र अर्कोतिर वजन राखिन्छ त्यसैगरी जीवनको तराजुमा पनि दुईवटा भाग हुन्छ हीन भावना र सामर्थ्य शक्ति । तपाईंले हीन भावनालाई आउन नदिन सामथ्र्य शक्तिलाई बढी मजबुत गर्नुपर्दछ, त्यसमाथि ध्यान केन्द्रित गर्नुपर्दछ, यसलाई प्रतिपक्ष भावना भनिन्छ । जब तपाईंको ध्यान सामर्थ्य शक्तिमा हुन्छ तपाई आफू भित्र उत्साहको नयाँ स्रोत खोज्न समर्थ हुनुहुन्छ । यो स्पष्ट छ कि प्रतिपक्षको भावना विकसित गरेपछि हीनतामाथि विजय प्राप्त गर्न सकिन्छ ।