ला लिगामा रियल म्याड्रिड पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल माल्लोर्कासँग १(० गोल अन्तरले पराजित भएको हो ।
माल्लोर्काको जितमा लागो जुनियरले खेलको एक मात्र गोल गरेका थिए । लागोले खेलको सातौ मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ७४औ मिनेटमा रियल म्याड्रिडका अल्भारो ओड्रीओजोलाले रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।
यस सिजनको ला लिगामा रियल म्याड्रिडको यो पहिलो हार हो । यस खेलमा इडेन हजार्ड, ग्यारेथ बेल, लुका मोड्रीच जस्ता खेलाडी खेलेका थिएनन् ।
रियल म्याड्रिडको हारपछि यसको सिधै फाइदा बार्सिलोनालाई भएको छ । रियल म्याड्रिड ९ खेलमा १८ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ भने बार्सिलोनाले यस सिजनमा पहिलो पटक शिर्ष स्थानमा आफुलाई कायम राखेको छ । बार्सिलोनाको ९ खेलमा १९ अंक रहेको छ ।
त्यस्तै ग्रानडा ९ खेलमा १७ अंकसहित तेस्रो स्थानमा छ भने एटलेटिको म्याड्रिड पनि गएराती भलेन्सियासँग १(१ को बराबरी खेलेपछि ९ खेलमा १६ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।