भारतको महाराष्ट्र र हरियाणामा सम्पन्न विधानसभा चुनाव को ‘एक्जिट पोल’ हरुमा भारतीय जनता पार्टी अगाडि देखिएको छ । हिजो सम्पन्न निर्वाचनामा महाराष्ट्रको २८८ र हरियाणाको ९० विधानसभा सीटमा मतदान भएको थियो ।
मतदान सकिएपछि विभिन्न संस्थाहरुले सार्वजनिक गरेको ‘एक्जिट पोल’ सार्वजनिक भएका छन् । महाराष्ट्रमा बीजेपीले १०९ देखि १२४ सीट ल्याउने पूर्वानुमानहरु सार्वजनिक भएका छन् भने शिवसेनाले ५७ देखि ६० सीट ल्याउने पूर्वानुमान गरिएको छ ।
अर्को तर्फ कांग्रेस र उसको सहयोगी एनसीपीले ७२ देखि ९० सीट पाउने र अन्यले २२ देखि ३४ सीट पाउने अनुमान गरिएको छ ।
त्यस्तै हरियाणामा पनि बीजेपीले ९० मध्ये ७१ सीटमा जित पाउने र कांग्रेसले ११ र अन्य दलले ८ सीट पाउने अनुमानहरु सार्वजनिक भएको छ ।
चुनावको नतिजा विहीवारसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २८८ सीट भएको महाराष्ट्रको विधानसभा चुनावमा बीजेपी र शिवसेना मिलेर चुनाव लडेका छन् ।
बिजेपीले १५० सीट र शिवसेनाले १२३ सीटमा चुनावी प्रतिस्पर्धा गरेका छन् । बाँकी १४ सीटमा गठवन्धनका अन्य दललाई मौका दिइएको छ । यहाँ बीजेपी शिवसेनाको सीधा प्रतिपर्धा कांग्रेस एनसीपी गठवन्धबीच हुने छ ।