प्रेमी भेट्न अमेरिका पुगिन् वर्षा !

समय समयमा नेपाली सेलिब्रेटीको लभ लाइफ निकै चर्चामा रहने गर्दछ । अहिले अभिनेत्री वर्षा सिवाकोटी अफेयरमा रहेको खबरले फिल्मवृत्त तातेको छ । सोलो नायिकाको रुपमा अहिलेसम्म एउटा हिट फिल्म दिन नसकेकी उनी अमेरिका निवासी सविनजंग थापाको प्रेममा रहेको बुझिएको छ । प्रेमीलाई भेट्नकै खातिर उनी हालै अमेरिका पुगेकी छन् ।

सविनले आफ्नो फेसबुक स्टोरीमा वर्षासँगको केही प्रेमिल तस्विर साझेदारी गरेका छन् । जसमा वर्षालाई प्रेमीसँग खुसी मुद्रामा देख्न सकिन्छ । तस्विरमा सविनले वर्षाको नाम लेखेर लभको इमोजी राखेका छन् । यसबाट पनि उनीहरु एकअर्काको प्रेममा चुर्लुम्म डुबेको स्पष्ट हुन्छ । यद्यपि, प्रेम सम्बन्धको विषयमा अहिलेसम्म वर्षाले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।



स्रोतका अनुसार, सविन र वर्षाले आउँदो वर्ष लगानगाँठो कस्नेछन् । केही हप्ता अगाडि एक अन्तर्वार्तामा वर्षाकी आमाले आउँदो वर्षभित्र छोरीको बिहे हुनसक्ने संकेत गरेकी थिइन् । गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’ रिलिजताका वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिएको थियो । तर, यसलाई दुबैले खण्डन गरेका थिए ।

‘नाईं नभन्नू ल २’ अभिनय यात्रा सुरु गरेकी वर्षाको फिल्मी करिअर खासै सुखद बन्न सकेको छैन । अभिनयको हिसाबले दुई दर्जनको आसपासमा फिल्ममा काम गरे पनि कुनैले निर्माता जोगाउन सकेनन् । यसकारण फिल्म क्षेत्रमा उनलाई ‘अनलक्की नायिका’ भन्ने गरिन्छ । हालसालै ‘लक्का जवान’ फिल्मको छायांकन सकेर उनी प्रेमी भेट्न अमेरिका पुगेकी हुन् ।

सम्बन्धित समाचार