नेपाल पनि अछुतो बनेन भारतको ‘ज्यानमारा’ वायुबाट

भारतको राजधानी नयाँदिल्लीमा अहिले ‘विषाक्त हावा’को लहरले सबैलाई आतंकित पारेको छ । सरकारले दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। सडक सवारी निकै कम गरिएको छ। मानिसलाई सकभर घरबाहिर ननिस्किन सुझाव दिइएको छ भने मंगलबारसम्म विद्यालय बन्द गरिएका छन्।

सामान्य वायुमा विषाक्त कण फैलिएपछि त्यहाँको ‘हावा’ निकै ‘विषाक्त’ मानिएको छ। नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीलाई ‘ग्याँस च्याम्बर’ भनी टिप्पणी गर्दै ‘विषाक्त हावा’बाट बच्न ट्वीटमार्फत् अपिल गरेका छन्।



दिल्लीको ‘विषाक्त हावा’ले नेपालमा के प्रभाव पार्छ ?

दिल्लीको आकाश अहिले निकै धुम्मिएको छ। सहरमा तुँवालो निकै बाक्लिएको छ, सहर नियाल्न हम्मे पर्छ।

शनिबार दिल्लीमा वर्षा भएको थियो। यो वर्षाले वायुमण्डलमा मडारिएका प्रदूषणका कण तल झार्ने विश्वास गरिएको थियो। तर, त्यो भएन। वर्षासँगै ठूलो हुरी पनि आयो।

तर, आइतबारको हावा झन् विषाक्त बन्यो। शनिबारसम्म चार सय २ मा रहेको ‘एयर क्वालिटी इन्डेक्स’ (हावाको गुणवेत्ता संकेत) आइतबार बिहान बढेर चार सय ४७ सम्म पुग्यो। यो ‘जोखिम रेखा’नाघेको संकेत हो।

आइतबारको हावामा केही ‘स्वास्थ्य सुधार’ हुने संकेत गरेका वातावरण विज्ञहरू नै यो परिवर्तनबाट आफैं अन्योलमा परेका छन्। दिल्लीको यो वायुको छायाँ नेपालसम्मै फिजिएको छ। खासगरी काठमाडौंको आकाश केही दिनदेखि राम्रोसँग खुल्न सकेको छैन। हलुका घामसँगै काठमाडौंको आकाश धुम्मप्रायः छ, ‘भिजिबिलिटी’मा कमी आएको छ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले शनिबार एउटा ट्वीट गर्‍यो ‘हाल भारतको उत्तर प्रदेशको वायुमण्डलमा धुलोका कण रहेको र पश्चिमबाट आउने वायुको कारण नेपालको वायुमण्डलमा धुलोका कणको मात्रा केही दिन बढ्ने र तुवाँलो लागी ‘भिजिबिलिटी’मा कमी आउने सम्भावना छ।’

नेपालमा वायु प्रदूषणको एउटा कारण मुख्य कारण भारतबाट आउने प्रदुषित हावा पनि रहेको यहाँका विज्ञ बताउँछन्।

त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभाग प्रमुख प्राध्यापक डा।रेजिना मास्के नेपालको वायु प्रदुषणमा यहाँका क्रियाकलाप मात्रै भन्दा पनि ‘भारतबाट आउने विषाक्त हावाको प्रभाव’ बढी रहने बताउँछिन्।

‘यो अन्तर्देशीय प्रदुषण हो, भारतको हावा दुषित हुँदा नेपालको हावा पनि स्वस्थ हुँदैन,’ मास्के भन्छिन् ‘भारतमा फैलिएको विषाक्त हावाले नेपालको हावालाई पनि प्रत्यक्ष प्रभाव पार्छ। यो अहिलेमात्रै होइन, पहिले पनि यस्तै हुन्थ्यो, हुँदै आइरहेको छ।’

पहिले नेपालमा वायुको गुणस्तर मापन गर्ने आफ्नै प्रविधि थिएन। त्यसका लागि भारतकै ‘इन्डेक्स’मा भर पर्नुपर्ने अवस्था थियो।  अहिले काठमाडौंका विभिन्न स्थानमा वायुको गुणमापक यन्त्र जडान गरिएका छन्। ती यन्त्रमा क्षणक्षणमा बहने हावामा प्रदूषणको मात्रा मापन हुन्छ।

हावामा प्रदूषणको मापदण्डअनुसार पिएम २.५ एकदमै सुक्ष्म कण हो। नेपालको राष्ट्रिय मापनका अनुसार उपत्यकाको मुख्य स्थान रत्नपार्कमा राखिएको प्रदुषण मापक यन्त्रमा यो कणको मात्रा बढ्न थालेको छ।

सामान्यतया ४० माइक्रोग्रामभन्दा बढी कण भएमा त्यो हावा स्वास्थ्यका लागि दुषित मानिन्छ।

आइतबार दिउँसोसम्म यसको मात्रा एक सय ६६ भन्दा माथि उक्लिएको छ, जुन जोखिमपूर्ण अवस्था हो। यो हावालाई ‘अस्वस्थ’को वर्गमा मापन गरिन्छ। इन्डेक्समा त्यो मात्रा बढेर एक सय ६८ सम्म पुगेको मापन गरिएको छ।

यहाँमात्रै होइन, काठमाडौंका अन्य ठाउँमा राखिएका यी यन्त्रले पनि हावामा प्रदुषणको मात्रा बढिरहेको देखाएका छन्।

भारतको हावा किन यति विषाक्त ?

खासगरी शरद ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ। खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्नका लागि उनीहरूले त्यसमा आगो लगाउँछन्।

हजारौं एकड जमिनमा खेतीपाती हुने हरियाणा, पञ्जाव, उत्तर प्रदेश र दिल्ली वरिपरिका धेरै ठाउँमा त्यस्तो आगो लगाइन्छ, जसबाट निकै विषालु धुवाँ वायुमण्डलमा बाक्लिन्छ।

त्यस्तै भारतमा लाखौं इँटाभट्टा छन्। इन्धनबाट चल्ने सवारीको चाप अहिले निकै बढेको छ।

दिल्लीमा जोर–बिजोर प्रणालीमा सवारीसाधन चल्ने व्यवस्था गरिएको छ। यसले पनि प्रदुषणको स्तरमा केही सुधार आउने अपेक्षा दिल्ली सरकारले लिएको छ।

दीपावलीमा पट्काइएका पटाकाको धुँवाले हावाको गुणस्तर अझैं बिगारेको छ।

दिल्लीको हावामा प्रदुषणको खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा २० गुणा बढी रहेको जनाइएको छ।

कलकारखानाहरुबाट निस्किने धुँवा पनि त्यत्तिकै हानिकारक हुन्छ।

वायु प्रदुषणका लागि यी कारणहरुलाई विज्ञहरुले आधारभूत कारण मानेका छन्।

सम्बन्धित समाचार