वीरगञ्जमा कलाकारको मेला, गोविन्दा पनि आउने

बलिउडका चर्चित कलाकार गोविन्दा नेपाल आउने तयारीमा छन् । उनी नेपाली फिल्म फेस्टिवलमा सहभागी हुनका लागि उनी नेपाल आउन लागेका हुन् । वीरगञ्जमा हुन लागेको स्वर्णिम चलचित्र महोत्सव–२०७६ मा उनी सहभागी हुनेछन् ।

यहि कात्तिक २१, २२ र २३ गते आदर्शनगर रंगशालामा हुने महोत्सवमा आफू नेपाल आउन लागेको एक भिडियो सन्देश मार्फत उनले बताएका छन् ।



उक्त भिडियो सन्देशमा उनले भनेका छन्, नमस्कार, म गोविन्दा । नेपाली गोल्डेन फिल्म फेस्टिवलमा आउँदैछु, तपाई सबैलाई भेट्नलाई सि यु अल एट वीरगञ्ज ।

‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने वीरगञ्जका दिलिप राजले जानकारी दिए । सोहि दिन बलिउड कलाकार गोविन्दा पनि नेपाल आउने र राष्ट्रपतिको हातबाट सम्मान ग्रहण गर्ने कार्यक्रम समेत तय भएको उनले बताए ।

तराई मधेशका कथा र कलाकारलाई समेत नेपाली चलचित्रमा समेटिनुपर्दछ भन्ने मान्यताका साथ आफूहरुले पहिलो चलचित्र महोत्सव वीरगञ्जमा गर्न लागेको आयोजकको भनाई छ ।

महोत्सव आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघको साझेदारी र सहयोग छ ।

त्यस्तै, महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदेश सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख रुपैयाँ र प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले समेत रकम छुट्याएको छ ।

सम्बन्धित समाचार