प्रधानमन्त्रीको जन्मदिनका कारण परीक्षा सारिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्दछ। हो, नेपालका प्रधानमन्त्रीको जन्मदिनका कारण परीक्षा नै सार्नुपरेको इतिहास छ। तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जङ्गबहादुर राणाको जन्म दिन परेपछि एसएलसी परीक्षा नै सार्नु परेको थियो। परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका तयार गरी सार्वजनिक गर्यो र सोहीअनुसार परीक्षा पनि धमाधम सञ्चालन गरिरह्यो। तर इतिहास विषयको परीक्षा तोकिएको दिन मोहनशमशेरको जन्म दिन परेछ। त्यो कुरा पनिकालाई हेक्का भएनछ। प्रधानमन्त्रीको जन्मदिनमा हर्षोल्लास भव्यताका साथ मनाउनुपर्ने प्रचलन छँदै थियो। त्यसैले त्यस दिन परीक्षा सञ्चालन गर्न नमिलेपछि परीक्षालाई भोलिपल्ट सार्नुपरेको थियो। गोरखापत्रका उपसम्पादक तथा शिक्षा पत्रकार सञ्जाल ९इजोन०का अध्यक्ष प्रकृति अधिकारीले हालै ‘एसएलसीको इतिहास’ पुस्तक बजारमा ल्याएका छन्। उनको सो पुस्तकमा प्रधानमन्त्रीको जन्मदिनका कारण परीक्षा सार्नुपरेको रोचक प्रसङ्गलाई उल्लेख गरिएको छ।
तत्कालीन प्रधानमन्त्री मोहनशमशेरको जन्मदिन पुस ७ गते थियो। यो घटना २००५ सालको हो। त्यस दिन परीक्षा लिन नमिलेपछि भोलिपल्ट अर्थात् पुस ८ गते इतिहास विषयको परीक्षा सञ्चालन गर्नुपरेको थियो। नेपालमा एसएलसी परीक्षाको थालनी १९९० सालबाट भएको हो । त्यसबेलादेखि पटकपटक विभिन्न कारणले परीक्षा सरेको इतिहास छ। परीक्षा सरेकोसम्बन्धी एक अर्को रोचक प्रसङ्गलाई पनि सोही पुस्तकमा समेटिएको छ। विराटनगरका परीक्षार्थीहरु परीक्षा केन्द्र वीरगन्जमा पुग्न नसक्दा परीक्षा सार्नुपरेको सूचना सार्वजनिक गरिएको थियो। २००३ साल पुस १७ गते जाँच स¥यो भनेर सूचना सार्वजनिक गरेर परीक्षा सरेको जनाउँ दिइएको थियो।
त्यस वर्ष पुस २४ गतेदेखि माघ ४ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। परीक्षार्थी परीक्षा केन्द्रसम्म नपुग्दा परीक्षा सरेको भनी पनिकाले ढाँट कुरा गरेको भनाइ सोही वर्ष परीक्षामा सम्मिलित भएका गोपीनाथ शर्माले दावी गरेका छन्। उनको भनाइ छ, “मेरो इच्छाधीन कृषि विषय थियो। इच्छाधीन कृषि विषय लिने छात्रहरुले प्रयोगात्मक परीक्षा दिन ताहाचल एक्सपेरिमेन्टल फार्म पुग्नुपथ्र्यो। कृषि इच्छाधीन विषय लिने छात्रमा डीजीपीआई ९शिक्षा निर्देशक० मृगेन्द्रशमशेरका छोरा आदित्यशमशेर पनि रहेछन्। उनीसँग त्यहाँ कुराकानी हुँदा उनी परीक्षा सुरु हुन दुई दिनअघिदेखि ज्वरो आइ बेरामी परेछन्। त्यसैले सात दिन परीक्षा सारिएको रहेछ भन्ने बुझियो।” २००८ साल फागुन ८ गतेबाट एसएलसी परीक्षा सुरु हुने भनी परीक्षा तालिका सार्वजनिक गरिएको थियो। त्यसबाहेक अरुपटक पनि परीक्षा स्थगन भएका थिए। प्रश्नपत्र बाहिरिएपछि पनि केही परीक्षा केन्द्रमा पनि परीक्षा स्थगन भएका छन्। २०७५ सालको एसईई परीक्षामा पनि प्रदेश २ मा यस्तै स्थिति सिर्जना भएको थियो। कुल ३१० पृष्ठको एसएलसीको इतिहासमा एसएलसी परीक्षा सुरु भएदेखि गत भदौसम्मका सम्पूर्ण घटनालाई समेटिएको छ। एसएलसीको इतिहासका बारेमा विभिन्न लेखकले बेलाबखत थोरैथोरै लेखेका छन्, तर उनीहरुले पुस्तकका रुपमा लेखेका छैनन्।
तसर्थ समग्र एसएलसी परीक्षाको इतिहास बोकेको यो पहिलो पुस्तक हो भनी ठोकुवा गर्न सकिन्छ। २००७ सालको आन्दोलनमा लागेकाले विद्यार्थीहरुले परीक्षाको तयारी गर्न नपाउँदा परीक्षामा सम्मिलित हुन सकेनन्। विद्यार्थीहरुले पुनः परीक्षाको माग राख्दै आएका थिए। अन्ततः मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि सरकारले १०४ जनालाई सङ्कटकालीन प्रमाणपत्र प्रदान गरेको थियो। त्यस वर्ष तीनपटक पूरक परीक्षा सञ्चालन गरिएको थियो। २००७ सालमा सबै विद्यार्थी उत्तीर्ण भएको भनी हल्ला निराधार रहेको दावी लेखक अधिकारीको छ। उनले पनिकामा रहेको मार्क लेजरअनुसार अनुत्तीर्ण भएकाहरु पनि थुप्रै रहेको दावी गरेका छन्। एसएलसी परीक्षा बोर्डका पहिलो परीक्षा नियन्त्रक नन्दराम उप्रेती वा हरमणि आदीमध्ये को हुन् भन्नेमा विवाद भइरहेको छ। लेखकले यस पनि प्रमाणका आधारमा आफ्नो तर्क प्रस्तुत गरेका छन्।