तीन लाखमा मिर्गौला किनबेच !

काभ्रेका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशमा भेटिन्थे। खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे। कहिले गलैंचा त कहिले गाडीमा खलासी बस्थे। गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए। ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चाहिएको छ,’ राजुले मगर (अदालतमा पेस भएको मिसिलमा उनको सांकेतिक नाम बबरमहल २ भनिएको छ) लाई प्रस्ताव गरे, ‘धेरै मानिसको एउटा मात्र मिर्गौला हुने रहेछ। तिम्रो जाँच गरौं। दुइटा भए एउटा दिँदा फरक पर्दैैन, तिमीले तीन लाख रुपैयाँ पाउँछौ।’

राजुले शंखरलाल लामाका लागि मिर्गौला खोजिदिएका हुन्। बाबुका लागि मिर्गौला खोज्न लामाका छोरा शिशिरसाग दौडधूप गरिरहेका थिए। राजुले त्यही दिन मगरलाई शिशिरसँग भेटाइदिए। शिशिरले पनि उसैगरी फकाए, ‘मेरो बुबालाई मिर्गौला चाहिएको छ, तपाईंलाई एउटा मिर्गौला भए पनि केही फरक पर्दैन। धेरै मानिसले मिर्गौला झिकेका छन्।’ जिल्ला अदालत ललितपुरमा पेस भएको आरोपत्रअनुसार उनले मगरलाई ‘मिर्गौला प्रत्यारोपणपछि नगदै ३ लाख रुपैयाँ दिउँला’ भनी आश्वासन दिएका थिए।



त्यसपपिछका ३-४ वटा भेटमा शिशिरले मगरलाई हरेकपल्ट ४-५ हजार रुपैयाँ दिएर आश्वस्त पारे भन्ने खबर कान्तिपुर दैनिकमा छ। मिर्गौला पाउने निश्चि भएपछि वनस्थलीस्थित डायलासिस सेन्टरमा डायलासिस गराइरहेका लामालाई पुल्चोकको निदान अस्पताल लगियो। त्यहाँ उनले आफ्ना भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको बताए। अस्पतालका प्रशासन प्रमुख विपेन्द्र प्रधान र कानुनी सल्लाहकार कुमुदकुमार भट्टराईले आवश्यक कागजात तयार गर्न सल्लाह दिए।

जिल्ला अदालतमा दर्ता भएको मिसिलअनुसार लामा र शिशिरले गाउँबाट भान्जाको नाता प्रमाणितको सिफारिस पत्र लिएर आए। अस्पताल आइसकेपछि उनै मगरलाई भान्जा बनाएर उभ्याए। लामाले बयानमा विवरण तोडमरोड गरेका छन्। अस्पताल पुर्याइएका भान्जा डराएर मिर्गौला प्रत्यारोपणका लागि नमानेपछि ल्याउनुपरेको उनको भनाइ छ। प्रहरीले भने सुरुदेखि नै मगरलाई अघि सारिएको निष्कर्ष निकालेको छ।

सम्बन्धित समाचार