तल्लो पेटको दाहिनेतिर औंला जस्तो आकार भएको थैलीलाई एपेन्डिक्स भनिन्छ । त्यो थैली सुन्निएमा एपेन्डिसाइटिस भनिन्छ । एपेन्डिसाइटिसले पेटको तल्लो भागमा पीडा दिन्छ । तर धेरै मानिसमा नाइटोबाट पीडा शुरू हुन्छ अनि बढ्दै जान्छ । सुन्निने बढ्दै जाँदा पीडा बढ्छ र निकै चर्को गरी दुख्छ ।
एपेन्डिसाइटिस जसलाई पनि हुन सक्छ र एपेन्डिक्सलाई शल्यक्रिया गरेर हटाउनु नै यसको उपचार हो ।
यसको लक्षणको कुरा गर्दा नाइटो वरपर अचानक पीडा हुन्छ र तल्लो पेटको दाहिनेतिर पीडा सर्छ । अनि खोक्दा, हिँड्दा वा जिउ थर्किंदा पनि पीडा बढ्छ । त्यसपछि चक्कर आउने र बान्ता आउने हुन्छ । अनि खाना खान मन लाग्दैन । त्यसपछि ज्वरो आउँछ र बढ्दै जान्छ । अनि पेट फुल्न थाल्छ । अपानवायु धेरै आउन थाल्छ ।
उमेरअनुसार र एपेन्डिक्सको अवस्थितिअनुसार पीडा हुने ठाउँ फरक फरक हुन सक्छ । गर्भवती महिलाको हकमा माथिल्लो पेटमा पीडा हुन सक्छ किनकि गर्भावस्थामा एपेन्डिक्स मास्तिर सर्छ ।
एपेन्डिक्सको नली रोकिँदा हुने संक्रमण नै एपेन्डिसाइटिसको कारण हुनसक्छ । यस क्रममा ब्याक्टेरिया तीव्र गतिमा बढ्छ र एपेन्डिक्स सुन्निन थाल्छ, फुल्छ र त्यसमा पीप भरिन्छ । तत्कालै उपचार नगरिएमा एपेन्डिक्स फुट्न सक्छ ।
एपेन्डिसाइटिसको उपचार नगर्दा गम्भीर जटिलता आउन सक्छ । एपेन्डिक्स फुटेमा पेटमा संक्रमण हुन सक्छ । त्यसो भएमा तत्कालै शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनुपर्छ र पेटको क्याभिटी सफा गर्नुपर्छ ।
एपेन्डिक्स फुटेमा पेटमा पीप जमेर संक्रमण हुन सक्छ । यसको उपचारका क्रममा सर्जनले ट्युब लगाएर पीप र फोहर हटाइदिन्छ । ट्युब लगभग दुई हप्तासम्म राखिन्छ र संक्रमण सफा गर्न एन्टीबायोटिक्स दिइन्छ ।
संक्रमण सफा गरेपछि शल्यक्रिया गरेर एपेन्डिक्स हटाइन्छ । कुनै कुनै केसमा पीप फोहर फालेपछि तत्कालै एपेन्डिक्स हटाइन्छ ।
एजेन्सी