च्याम्पियन्स लिगः अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो रियल

च्याम्पियन्स लिगको प्रतिक्षीत भिडन्तमा रियल म्याड्रिड अन्तिम १० मिनेट समालिन नसक्दा फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेइन (पिएसजी) विरुद्धको जितबाट विमुख भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह ए को खेलमा रियल र पिएसजी २–२ को बराबरीमा खेले ।

रियलको घरेलु मैदानमा भएको खेलमा २–० ले पछि परेको अवस्थाबाट पिएसजीले अन्तिम १० मिनेटमा पुनरागमन गर्दे खेल बराबरी गर्न सफल भयो । रियलका लागि करिम बजेन्जिमाले १७ र ७९ औँ मिनेटमा गोल गर्दे टिमलाई जित नजिक पुर्याएका थिए । अन्तिमको १० मिनेट बाँकी हुँदासम्म गोल फर्काउन नसकेपछि पिएसजीले हार्ने अनुमान गरिएको थियो ।



तर ८१ औँ मिनेटमा केलियन एमबाप्पेले पिएसजीका लागि पलो गोल गरे। पहिलो गोल खाएपछि समालिन नपाउँदै ८३ औँ मिनेटमा पाब्लो साराबिएले टिमका लागि दोस्रो गोल गर्दा रियलका घरेलु समर्थक स्तब्ध बनेका थिए । दुवै टिमको नकआउट निश्चित भइसकेको छ। समुह ए मा शीर्ष स्थानको पिएसजीको १३ अंक रहँदा दोस्रो स्थानको रियल मड्रिडको ८ अंक छ।

सम्बन्धित समाचार