विमान दुर्घटनामा नौ जनाको मृत्यु

अमेरिकाको साउथ डाकोटामा विमान दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई बालबालिका र चालकदलका सदस्य रहेको ब्रुल काउन्टी राज्यका न्यायाधिवक्ता थेरेसा मउल रोस्वोले विज्ञप्तिमार्फत जनाएका छन् ।

रोस्वोले भने, “मौसम प्रतिकुलताका बाबजुद पनि उद्धारकर्ताहरुले ‘हिरोइक शैली’ मा घाइतेहरुको उद्धार गरेका छन् ।”



१२ जना सवार उक्त विमानमा तीनजना घाइते भएको र उनीहरुलाई उपचारका लागि सिउक्स फल्समा लगिएको बताइएको छ ।

बिहानको समयमा मौसममा खराबी हुँदा विमान दुर्घटना भएको संघीय उड्डयन प्रशासनका प्रवक्ता लिन लुन्सफोर्डले बताएका छन् । उनले भने, ‘पिलाटुस पीसी-१२ कलसाइन भएको उक्त विमान इडाहो फल्स क्षेत्रीय विमानस्थलबाट उडेको थियो ।’

सिउक्स फल्सस्थित राष्ट्रिय मौसम सेवाका अनुसार साउथ डाकोटामा करिब एक इन्चसम्मको हिउँ परिरहेको छ । जसका कारण उक्त विमान दुर्घटना भएको जनाइएको छ । मौसम सेवाले एक माइलभन्दा कम भिजिविलिटी भएको ट्विटमार्फत जनाएको छ ।

संघीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छन् । (सीएनएन)

सम्बन्धित समाचार