आन्दोलनका लागि चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले आजदेखि शुरु गरेको बिडिएस, विएससी नर्सिङ र प्यारामेडिक्सका स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् ।

चितवनको चितवन मेडिकल कलेज (सिएमसी), भैरहवाको युनिभर्सल मेडिकल कलेज (युसिएमएस) का विद्यार्थीहरुले आजको परीक्षा बहिष्कार गरेका हुन् ।



मेडिकल शिक्षामा ठगी भएको भन्दै सरकारले तोकेको भन्दा बढी शुल्क लिएका कलेजले शुल्क फिर्ता नगरेसम्म आन्दोलन नरोकिने भन्दै विद्यार्थीहरुले शैक्षिक कार्यक्रम बहिस्कार गरेका हुन् ।

बिहान ९ बजेदेखि परीक्षा शुरु गर्दा युसिएमएसका विद्यार्थीहरुले परीक्षा सेन्टर बाहिर पेन डाउन गरेर धर्ना दिएका थिए । यस्तै सिएमसीका विद्यार्थीहरुले पनि परीक्षा बहिष्कार गर्दै आन्दोलनको गरिरहेका छन् ।

युसिएमएसमा बिडिएस प्रथम वर्षका ४० जना र प्यारामेडिक्सका अन्य विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । यस्तै सिएमसीका बिडिएस प्रथम वर्षका ४० जना र प्यारामेडिक्स, विएसी नर्सिङका सबै विद्यार्थीहरुले परीक्षा नदिएको सिएमसीकी मेडिकल विद्यार्थी मान्यता थापाले बताइन् ।

उनले भनिन्, ‘हाम्रो कजेमा आजदेखि प्यारामेडिक्स, नर्सिङको फार्मेसीको परीक्षा शुरु भएको थियो, कसैले पनि परीक्षा दिएका छैनन्, हामीले कलेज अगाडी विरोध कार्यक्रम गरिरहेका छौं ।’

युसिएमएसका एमबीबीएस प्रथम वर्षका एक सय जना विद्यार्थीले पनि भोलिदेखि शुरु हुने परीक्षा बहिष्कार गर्ने घोषणा गरीसकेको एक विद्यार्थीले बताए ।

आइओएमले भोलिदेखि शुरु हुने भनेको एमबीबीएस प्रथम वर्षको परीक्षामा विरगंजको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल मेडिकल कलेज र चितवन मेडिकल कलेजले परीक्षा बहिष्कार गर्ने घोषणा गरीसकेको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्त डा. सुजन कडरियाले बताए ।

मेडिकल शिक्षामा शुल्कको विषयलाई लिएर मेडिकल विद्यर्थीहरु लामो समयदेखि आन्दोलित छन् । विद्यार्थीको आन्दोलपछि सरकारले मंसिर १० गते मेडिकल कलेज सञ्चालकसँग वार्ता गरी शुल्क फिर्ताको सहमति गरेको थियो ।

तर सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमतिप्रति आन्दोलनरत विद्यार्थीहरु असन्तुष्ट छन् । विद्यार्थीहरुले सरकारसँग गरेको सहमतिले सबै मेडिकल विद्यार्थीको शुल्क फिर्ता नहुने र बढी लिएको शुल्क पूर्ण रुपमा फिर्ता नहुने भन्दै विद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका छन् ।

परीक्षा वहिष्कार गरेका विद्यार्थीहरुले सरकारसँगै भएको सहमित अनुसार पनि शुल्क फिर्ताको प्रक्रिया शुरु नभएको दावी गरेका छन् ।

सम्बन्धित समाचार