स्पेनिस लालिगामा बार्सिलोनाले रियल माल्लोर्कालाई ५–२ गोल अन्तरले हराएको छ । आइतबार बिहान भएको खेलमा लियोनल मेस्सीले ह्याट्रिक गर्न सफल भए । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो ।
१७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ बनाए । ४१औं मिनेटमा मेसीले अर्का गोल गरी अग्रता पुन बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अग्रता लियो ।
दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्को गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरे । मेसीले ८३औं मिनेटमा तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो ।
जीतपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ। शनिबार रातिको खेलमा स्पानियोललाई २–० ले हराएको रियल मड्रिड समान खेलबाट समान ३४ अंक बनाई दोस्रो स्थानमा छ ।