नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कार्तिक।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ दशमलव २ ओभरमा छ विकेटको क्षतिमा भेट्टायो ।
चितवनका लागि डेविड मलानले अविजित ३५, कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि राहुल यादवले ३, ललितनारायण राजवंशीले २ र विशाल सुस्लिङले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो । जनकपुरका लागि कप्तान हरमित सिंहले २५, विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १०÷१० रन बनाए ।
बलिङतर्फ चितवनका लागि रञ्जित कुमारले ३, कप्तान सिकन्दर रजा र कामिल मिसराले समान २/२ तथा रिजन ढकाल र कमल सिंह ऐरीले एक एक विकेट लिए ।
यो जितपछि चितवन अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले छ खेल खेल्दा तीनमा जित, दुई खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । त्यस्तै सात खेलमा चार अंक जोडेको जनकपुरर कर्णाली याक्स पनि प्लेअफ पुग्न असफल हुँदै बाहिरिएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई ७ रनले पराजित गरेको थियो ।(रासस)

