रंगशालामा प्रहरीले वर्षायो दर्शकमाथि लाठी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी प्रहार गरेको छ। मंगलबार १३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ। लगतै सागको समापन समारोह छ।

त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए। तर सबै टिकट विक्री भइसकेको थियो। उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी प्रहार गरेको छ। यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो।



कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ। नागरिक दैनिकका पत्रकार समुन चापागाईलाई प्रहरीले दुर्व्यवहार गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरे।

‘टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन्। त्यसपछि ठेलठाल गरेर हटाइएको हो। बल प्रयोग गरेको छैन’, उनले भने।

समापनसँगै फुटबलको फाइनल खेल पनि आजै छ। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छन्। नेपाल भर्सेस भुटानको खेल हेर्न टिकट लिन पुगेका दर्शकलाई हटाउने क्रममा लाठी प्रहार भएको हो।

सम्बन्धित समाचार